काठमाडौँ । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत अहिले एउटा केस मिलाउन चौतर्फी धाइरेहका छन् । झन्डै डेढ करोड भ्यालुएसन भएको धितो राखेर ९ करोड ९० लाख रुपैयाँ कर्जा दिएको पाइएपछि राष्ट्र बैंकले उनी र बैंकका एक संचालकलाई स्पष्टीकरण सोधेको थियो । संचालकले आफुलाई फसाउन खोजेको भन्दै सत्य कुरा के हुन् भनी उल्लेख गरिएको स्पष्टीकरण राष्ट्र बैंकमा पेश गरिसकेका छन् भने ढुंगानाको स्पष्टीकरण भने राष्ट्र बैंकले आफुलाई चित्त नबुझेको भन्दै थप अनुसन्धान थालेको छ ।
नेपाल बंगलादेश बैंकले पार्थ इन्टरनेशनललाई दिएको ९ करोड ९० लाख रुपैयाँ दिइएको कर्जा शंकास्पद पाईएपछी राष्ट्र बैंकले यो कर्जालाई 'प्रोभिजनिङ' गर्न भनिसकेको छ । २०७५ असार २१ गते रेशु अग्रवालले पार्थ इन्टरनेशनल नामको प्राइभेट फर्म दर्ता गरिएको, फर्म दर्ता भएको दुई दिनपछि नै पार्थ इन्टरनेशनलले ०७५ साल असार २३ गते नेपाल बंगलादेश बैंकमा कर्जाका लागि आवेदन दिएको र त्यसको केहि दिन लगत्तै कर्जा दिएको पाइएपछि राष्ट्र बैंक यस विषयमा अनुसन्धान गर्न तातेको हो । त्यसमा पनि असार मसान्त अर्थात आर्थिक बर्षको अन्तिम दिन कर्जा दिएको पाइएपछि सो कर्जामाथि राष्ट्र बैंकको नजर परेको हो ।








