काठमाण्डौ । घटस्थापनाको अवसर पारेर नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आफ्ना डेबिड/क्रेडिट भिसा कार्ड वाहक ग्राहकहरूका लागि सबैभन्दा सुरक्षित र सरल अनलाइन कारोबारका सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नै पेमेन्ट गेट्वे आरम्भ गरेको छ ।
यो पेमेन्ट गेट्वेले व्यापारिक भुक्तानी पोर्टल (वेबसाइट आदि), प्राप्तिकर्ता बैंक, भिसाजस्ता कार्ड विनियम प्रणाली र जारीकर्ता बैंकबीच कारोबार भएकै समय(रियल टाइम)मा भुक्तानी सहजीकरण सुविधा प्रदान गर्दछ ।
प्रयोगकर्ताहरूका लागि प्रणालीमाथि विश्वसनीय सुनिश्चिता कायम गर्न उच्च सुरक्षित इन्क्रिप्सन र अन्य बहुआयामिक सुरक्षा विधिहरूबाट कारोबारका डाटाहरू सुरक्षित बनाइएको छ ।
अब व्यापारीहरूले विश्वभरि नै आफ्ना वस्तु तथा सेवा बिक्री गर्नसक्छन् भने कार्डवाहकहरूले इकर्मश साइटहरूबाट सातै दिन चौबीसै घण्टा (२४÷७) सुरक्षित रुपमा अनलाइनबाट वस्तु तथा सेवा किनमेल गर्न सक्छन् ।
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आफ्नो दक्षतामा आधारित कार्यसम्पादनलाई चुस्तदुरुस्त, स्थिर तथा विश्वसनीय प्रणाली विकास गरी नेपाली बैंकिङलाई विश्वव्यापी मानकमा लैजाने उद्देश्य राख्दै आएको छ, जसका लागि यो पेमेन्ट गेटवेले एक फड्को मार्ने बैंकको दाबी छ । थप, बैंकले यो सेवा आरम्भ गरेको अवसरमा छानिएका बिक्रेताहरूमा लागू हुने गरी अनलाइन कारोवारमा २५ प्रतिशतसम्म नगद फिर्ता (क्यास ब्याक) अफर घोषणा गरेको छ ।
....