कोरिया र भारतमा रहेका नेपालीको प्रभु बैंकले खाता खोलिदिने


Online Khabar 2076-5-25


Online Khabar

२५ भदौ, काठमाडौं । प्रभु बैंक र वित्तीय पहुँच विस्तारमा काम गर्दै आएको संस्था सक्षमबीच समझादारी भएको छ । बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा बैंक र सक्षमबीच कोरिया र भारतमा रहेका २१ हजार नेपालीको खाता खोल्नका लागि समझदारी भएको हो ।

समझादारी पत्रमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सक्षमका तर्फबाट निर्मल दाहालले हस्ताक्षर गरे । सम्झौता अनुसार प्रभु बैंकले कोरिया र भारतमा रहेका २१ हजार नेपालीहरुको बैंक खाता खोल्नु पर्नेछ ।

सम्झौता पत्रमा यि देशहरुमा रहेका नेपालीका आफन्तहरु (स्वदेशमा रहेका) लाई ऋण लगानी समेत गर्नु पर्नेछ । सम्झौता पत्रमा कम्तिमा पनि ति परिवारका ६ सय जनालाई कर्जा लगानी गरेर उद्यमशिल बनाउनु पर्ने उल्लेख गरिएको छ ।

समझदारी पत्रमा हस्ताक्षर गर्न आयोजना गरिएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ प्रमुख अतिथिको रुपमा थिए । उनले सहमति पछि नेपालमा वैधानिक च्यानलबाट रेमिट्यान्स भित्रिन थप मद्दत पुग्ने बताए ।

अहिले रेमिट्यान्स पठाउदा कुल रकमको १.७ प्रतिशत शुल्क लाग्ने उनले जानकारी दिए । यो ठूलो शुल्क नभएको भन्दै उनले बैंकिङ च्यानलबाट रेमिट्यान्स भित्र्याउन सबैले भूमिका खेल्नु पर्ने बताए ।

कार्यक्रममा प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले सक्षमसँगको सहकार्यले काम गर्न थप होसला प्रदान गर्ने बताए । सक्षमसँगको सहकार्यले विकट क्षेत्रमा शाखा खोल्न महत्वपूर्ण योगदान गरेको भन्दै उनले निरन्तर सहकार्यको आफूले अपेक्षा गरेको बताए ।

यस परियोजनाका लागि सक्षमले बैंककलाई १० करोड रुपैयाँ उपलब्ध गराएको छ ।

Read More
  • Financial Notices