बिमा कम्पनीहरुले साधारण सभा बोलाउन किन गर्दैछन् विलम्ब ?


Nepali Paisa 2076-4-28


Nepali Paisa

काठमाडौं : अघिल्लो आर्थिक वर्ष २०७५÷०७४ सकिएको एक वर्ष बितिसक्दा पनि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २२ बिमा कम्पनीहरु मध्ये ७ वटाले अझै वार्षिक साधारण सभाको मिति तय गर्न सकेका छैनन् । यता, ३ बिमा कम्पनीले भने बल्लतल्ल साधारण सभाको मिति तय गरेका छन् । अहिलेसम्म अघिल्लो वर्षको साधारण सभा नगर्ने जीवन बिमा कम्पनीमा एसियन लाइफ, गुराँस लाइफ, नेसनल लाइफ र प्राइम लाइफ इन्सुरेन्स रहेका छन् । त्यस्तै, सभा नगर्ने निर्जीवन बिमा कम्पनीमा एभरेष्ट इन्सुरेन्स, हिमालयन जनरल र एनएलजी इन्सुरेन्स रहेका छन् । 

कम्पनी ऐन अनुसार ‘पब्लिक’ कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गरिसक्नुपर्छ । यदि ६ महिना भित्रमा नगरेमा आवश्यकता र औचित्य अनुसार थप ३ महिना भित्रमा सभा गरिसक्न कम्पनी रजिष्ट्रार कार्यालयले निर्देशन दिन सक्छ । थपिएको समयमा पनि साधारण सभा नगरेमा सेयरधनीले अदालतमा गएर मुद्दा समेत दायर गर्न सक्ने व्यवस्था छ ।

सेयरधनीको निवेदनको सुनुवाई गर्दै अदालतले साधारण सभा सम्पन्न गर्न उपयुक्त आदेश दिन सक्नेछ । साथै, कम्पनीहरुले तोकिएको समयमा साधारण सभा गर्न नसकेमा चुक्ता पुँजीका आधारमा जरिवाना लगाउन सक्ने कानुनी व्यवस्था समेत रहेको छ । यद्दपि, लगानीकर्ताहरु यस्तो विषयमा अहिलेसम्म अदालतसम्म पुगेको घटना भने निकै कम छन् । 

Read More
  • Financial Notices