जलवायु परिवर्तनका कारण विश्वभर धान खेती हुने क्षेत्रहरू इतिहासमै पहिलोपटक यस्तो तापक्रममा पुगिरहेका छन् जहाँ मानवले विगत ९ हजार वर्षको खेती इतिहासमा कहिल्यै सफलतापूर्वक धान उत्पादन गरेका थिएनन् । नयाँ अध्ययनले पृथ्वी तातिने गति धानको प्राकृतिक विकास र अनुकूलन क्षमताभन्दा करीब ५ हजार गुणा छिटो रहेको देखाएको छ ।
यो अध्ययनले धान आफ्नो तापीय सीमा (थर्मल लिमिट) नजिक पुगिरहेको संकेत गरेको छ । अर्थात्, बढ्दो गर्मीअनुसार आफूलाई सहज रूपमा अनुकूल बनाउन धानलाई कठिन हुँदै गएको छ ।
वैज्ञानिकहरूका अनुसार मानिसहरूले बढी गर्मी सहन सक्ने धानका नयाँ जात विकास गर्न सक्छन् वा खेती क्षेत्र अन्यत्र सार्न सक्छन् । तर, भविष्यमा हुने तापवृद्धिले धानमा निर्भर अर्बौं मानिसको खाद्य सुरक्षा र जीविकोपार्जनमा गम्भीर असर पार्न सक्छ ।
अध्ययनका प्रमुख लेखक तथा अमेरिकास्थित फ्लोरिडा म्युजियम अफ नेचुरल हिस्ट्रीका मानवशास्त्री तथा भूगोलविद् निकोलस गोथिएरले भने, ‘मानव अनुकूलन क्षमतालाई कम आँक्न चाहँदैनौं । तर, हामीले यो पनि स्वीकार गर्नुपर्छ कि धेरै अनुकूलन उपायहरू पहिले नै प्रयोग भइसकेका छन् र अब हामी व्यावहारिक रूपमा अनुकूल हुन सकिने सीमाको नजिक पुगिरहेका हुन सक्छौं ।’









