काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा ७३ पदका लागि १४१ व्यवसायीले उम्मेदवारी दिएका छन् ।
चैत २९ र ३० गते हुने ६० औं वार्षिक साधारणसभा तथा निर्वाचनका लागि उपाध्यक्ष र कार्यकारिणी समिति सदस्य पदका लागि यो संख्यामा उम्मेदवारी परेको हो । महासंघ निर्वाचन समितिका अनुसार चार उपाध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ भने ६९ कार्यकारिणी समिति सदस्यका लागि १३२ व्यवसायीले मनोनयन दर्ता गरेका छन् ।
महासंघको साधारणसभापछि हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् । वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन निर्वाचित कार्यकारिणी समितिले गर्नेछ । कार्यकारिणी समितिमा सातवटै प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष पदेन सदस्य हुनेछन् भने अध्यक्षले ६ जना सदस्य मनोनित गर्न पाउने विधानको व्यवस्था रहेको छ । महासंघको संशोधित विधानअनुसार जिल्ला–नगरतर्फ दुई उपाध्यक्ष र वस्तुगत तथा एशोसिएट समूहमा एक÷एक उपाध्यक्ष हुने व्यवस्था गरिएको छ ।







