काठमाडौँ — नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सरकारले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर रणनीतिक साझेदार भित्र्याउनुपर्ने सरकारी अध्ययन प्रतिवेदनले औंल्याएको छ । रणनीतिक साझेदारलाई १५ देखि २५ प्रतिशत स्वामित्व दिनु उपयुक्त हुने प्रतिवेदनमा सुझाव छ ।
गत २ मंसिरमा मन्त्रिपरिषद्ले नेप्से पुनःसंरचनासम्बन्धी सुझाव समिति गठन गरेको थियो । चार्टर्ड एकाउन्टेन्ट प्रकाशजंग थापाको संयोजकत्वमा गठित उक्त समितिले केही साताअघि प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
गत साता बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिवेदनलाई स्वीकार गर्ने र क्रमशः कार्यान्वयन गर्ने निर्णय गरेको छ । सोही निर्णयका आधारमा मंगलबार अर्थ मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो ।







