सिन्धुली - नेपाल एसबीआई बैंकको घ्याङलेख शाखाबाट मंगलबार राति लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार लुटेराहरूले कुल ३ करोड १० लाख ९५ हजार २ सय ८३ रुपैयाँ लुटेका थिए।
प्रहरीले खोजतलासका क्रममा लुटिएको रकमको ठूलो हिस्सा जंगल क्षेत्रमा फेला पारेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीका अनुसार लुटपाटमा संलग्न समूहले लुकाएर राखेको अवस्थामा उक्त रकम बरामद गरिएको हो।
घटना मंगलबार साँझ करिब पौने ९ बजेतिर भएको थियो। नकावधारी तथा हतियारधारी पाँचदेखि छ जनाको समूहले बैंक सुरक्षा गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिएर खुकुरी प्रहार गरी सामान्य घाइते बनाएको प्रहरीले जनाएको छ। त्यसपछि बैंकका कर्मचारीहरूलाई समेत नियन्त्रणमा लिएर नगद रकम लुटिएको थियो।
प्रहरीले लुटेराहरूले प्रयोग गरेको बा.डी. ०३९८ नम्बरको टाटा सुमो जीप र चालक भवत सिंह थापालाई नियन्त्रणमा लिएको छ। उक्त सवारी साधन बनेपाबाट रिजर्भ गरी प्रयोग गरिएको खुलेको छ।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउका लागि खोजी कार्य तथा थप अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।








