काठमाडौं - सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–२ मा रहेको नेपाल एसबीआई बैंकको शाखामा मंगलबार साँझ करिब ७ बजे लुटपाट भएको छ। प्रहरीले नकाबधारी ६–७ जनाको समूहले बैंकमा प्रवेश गरी सुरक्षामा खटिएका गार्डमाथि आक्रमण गर्दै कर्मचारीलाई नियन्त्रणमा लिएर बैंकभित्रको नगद लुटेको जनाएको छ।
घटनाका क्रममा धारिलो हतियार प्रयोग गरिएको र लुटेरालाई रोक्न खोज्दा सुरक्षा गार्ड घाइते भएका छन्। घाइते गार्डको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। अन्य कर्मचारीलाई हात बाँधेर केही समय नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार लुटपाटपछि प्रहरीले तत्काल खोजी तथा अनुसन्धान सुरु गरेको छ। सोही क्रममा घटनामा संलग्न एक जना व्यक्ति गाडिसहित पक्राउ परेका छन्। प्रहरीले लुटपाटमा प्रयोग भएको गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उक्त गाडीमा नकाबधारी व्यक्तिहरू बिहेमा जाने भन्दै चढेका थिए। चालकले अन्य गतिविधिबारे जानकारी नभएको बताएका छन्। यद्यपि घटनामा संलग्न अन्य व्यक्तिको पहिचान, लुटिएको रकमको यकिन विवरण र सम्पूर्ण घटनाक्रमबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








