सिटिजन्स बैंकको नेतृत्वमा सानीभेरी हाइड्रोपावरमा ७ अर्ब २० करोड रुपैयाँ लगानी हुने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकको नेतृत्वमा सानीभेरी हाइड्रोपावरमा ७ अर्ब २० करोड रुपैयाँ लगानी हुने

काठमाडौं - रुकुमपूर्वको सानीभेरी हाइड्रोपावर आयोजना (४४.५२ मेगावाट) मा सिटिजन्स बैंकको नेतृत्वमा पाँच बैंकले ७ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने सम्झौता सोमबार काठमाडौंमा सम्पन्न भएको छ।

सम्झौतापत्रमा एक्पर्ट हाइड्रो इन्भेष्टमेन्टका प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका हुन्। हस्ताक्षरको अवसरमा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा पनि उपस्थित थिए।

सम्झौताको अनुसार, सिटिजन्स बैंकले २ अर्ब ५० करोड रुपैयाँ, नबिल बैंकले १ अर्ब ५० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २० करोड, र सानिमा तथा सिद्धार्थ बैंकले १–१ अर्ब रुपैयाँ लगानी गर्ने छन्।

आयोजनाको कुल लागत ९ अर्ब ६० करोड रुपैयाँ अनुमान गरिएको छ, जसमा २५ प्रतिशत स्वपुँजी लगानी हुनेछ। सिटिजन्स बैंकका सीइओ पोखरेलले आयोजना समयमै सम्पन्न गर्न प्रवर्धकसँग आग्रह गरेका छन्।

Citizens Bank and Saniveri Hydro

एक्पर्ट हाइड्रोका प्रबन्ध निर्देशक नेपालले पनि आयोजनालाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, “वित्तीय साझेदारहरूसँगको सहकार्यले परियोजना समयमै पूरा गरी राष्ट्रिय ग्रिडमा योगदान पुर्‍याउने हाम्रो साझा लक्ष्यलाई साकार बनाउनेछ।”

सानीभेरी हाइड्रोपावर ‘रन अफ दि रिभर’ परियोजना हो र रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका-७ र १४ मा निर्माण हुनेछ। आयोजनाबाट वार्षिक सरदर २८३.३७ गिगावाट–घण्टा विद्युत उत्पादन हुने अनुमान छ।

मुख्य संरचना सानीभेरी नदीको बायाँ किनारमा निर्माण हुनेछ। उत्पादन हुने विद्युत ५० हर्जको ट्रान्सफर्मरमार्फत करिब २० किलोमिटर प्रसारण लाइनबाट प्रस्तावित बाँफिकोट सबस्टेसनमा जोडिनेछ।

आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग २०८० असार २७ गते विद्युत खरीद विक्री सम्झौता (पीपीए) गरिसकेको छ। परियोजना सुरु भएको ४२ महिनाभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ। आवश्यक व्यक्तिगत जग्गा खरिदको काम पनि पूरा भइसकेको छ।

  • MBL - below news