सेयर निष्कासन प्रक्रियामा कमिसन मागिएको चर्चाबीच नेपाल धितोपत्र बोर्डले मापदण्ड नपुगेका कम्पनीहरूको जानकारी सार्वजनिक गर्ने बताएको छ।
'कम्पनीको प्रतिसेयर नेटवर्थ लगायतका जानकारी तीन/तीन महिनामा फेरिरहन्छ, प्रक्रियामा रहेका कम्पनीको संख्या धेरै भएकोले अहिले त्यस्तो जानकारी दिन समस्या भइरहेको थियो,' धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले भने, 'अब यस्तो कम्पनीको बारेमा जानकारी दिनेछौं।'
लेखा समितिले २०८१ जेठमा प्रतिसेयर ९० रूपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आइपिओ निष्कासनको अनुमति नदिन निर्देशन दिएको थियो। सो समयदेखि नै धितोपत्र बोर्डमा सेयर निष्कासन अनुमतिको पर्खाइमा रहेकाहरूको ताँती बढ्दै गएको थियो।








