काठमाडौं : बिल गेट्सले आगामी २० वर्षभित्र आफ्नो लगभग सबै व्यक्तिगत सम्पत्ति दान गर्ने र गेट्स फाउन्डेसन बन्द गर्ने योजना बनाएका छन् । बिहीबार एक ब्लग पोस्टमा अर्बपति गेट्सले उक्त घोषणा गरेको सीएनबीसीले लेखेको छ । 'मेरो मृत्युमा, मानिसहरुले मेरो बारेमा धेरै कुरा गर्नेछन्, तर त्यसमध्ये ‘उनी धनी भएर मरे’ भन्ने कुरा भने म हुन दिनेछैन,' ६९ वर्षीय गेट्सले लेखे ।
साथै गेट्सले भपे, 'मानिसहरुलाई सहयोग गर्न सकिने स्रोतहरू आफूसँग राखिरहनु भनेको अत्यावश्यक समस्याहरुको समाधानबाट टाढा रहनु हो' । माइक्रोसफ्टका सहसंस्थापक गेट्सको कुल सम्पत्ति ब्लूमबर्गका अनुसार अहिले १६८ अर्ब अमेरिकी डलर अनुमान गरिएको छ । उनले आफ्नो अधिकांश सम्पत्ति परोपकारी कार्यका लागि दिने प्रतिबद्धता वर्षौंअघिदेखि नै जनाउँदै आएका छन् ।