प्रभु बैंक र पोखरा-९ कृषि बजार व्यवस्थापन समिति बीच डिजिटल कारोबार सहजीकरणका लागि सहमति


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु बैंक र पोखरा-९ कृषि बजार व्यवस्थापन समिति बीच डिजिटल कारोबार सहजीकरणका लागि सहमति

पोखरा – प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं.–९ शान्ति बन वाटिकास्थित कृषि बजार व्यवस्थापन समिति बीच व्यवसायिक साझेदारीको सम्झौता सम्पन्न भएको छ। एक औपचारिक कार्यक्रममा दुई पक्षबीच हस्ताक्षर गर्दै उक्त सम्झौता सम्पन्न गरिएको हो।

सम्झौताअनुसार अब कृषि बजार व्यवस्थापन समितिको मातहतमा सञ्चालन भइरहेका फलफूल तथा तरकारीका स्टलहरूबाट हुने दैनिक आर्थिक कारोवारलाई बैंकिङ पहुँचसहित डिजिटल माध्यममा रूपान्तरण गरिनेछ। यसले स्थानीय स्तरमा हुने नगद कारोबारलाई नगदरहित बनाउने र आधुनिक कारोबार अभ्यासमा प्रविष्ट गराउने उद्देश्य राखिएको छ।

सम्झौतामा समितिका तर्फबाट अध्यक्ष नवराज दुवाडी र प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख राजु रानाले हस्ताक्षर गरेका थिए। अध्यक्ष दुवाडीले बैंकप्रति आभार व्यक्त गर्दै उक्त सहकार्यले समितिअन्तर्गतका व्यवसायीहरूलाई डिजिटल कारोबारमा सहजता ल्याउने विश्वास व्यक्त गरे।

प्रभु बैंकका प्रदेश प्रमुख रानाले डिजिटल सेवा तथा सहजीकरणमार्फत कृषिमा आधारित स्थानीय बजारलाई औपचारिक वित्तीय प्रणालीमा आबद्ध गराउन उक्त साझेदारी महत्वपूर्ण हुने बताए।

बैंकले कृषि बजारमा डिजिटल भुक्तानी प्रणाली अन्तर्गत QR कोड, इन्टरनेट सेवा तथा आवश्यक प्रविधि उपलब्ध गराउनेछ। साथै, व्यवसाय विस्तारका लागि समिति अन्तर्गतका व्यवसायीहरूको आवश्यकतालाई ध्यानमा राखी बैंकिङ मापदण्डअनुसार कर्जा सुविधा समेत उपलब्ध गराइनेछ।

यस सहकार्यलाई पोखरा महानगरपालिका वडा नं.–९ को स्थानीय आर्थिक विकासमा एक महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ।

  • MBL - below news
  • EBL Ad news