AI दुरुपयोगमार्फत साइबर अपराध बढ्दो: साइबर ब्यूरोको चेतावनी


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
AI दुरुपयोगमार्फत साइबर अपराध बढ्दो: साइबर ब्यूरोको चेतावनी

काठमाडौं - पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence - AI) को दुरुपयोगमार्फत सामाजिक सञ्जालमा चरित्र हत्या, अश्लील सामग्री निर्माण, आपत्तिजनक डिजाइन तथा अभद्र व्यवहार प्रवर्द्धन हुने गतिविधिहरू तीव्ररूपमा बढ्दै गइरहेको पाइएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले यस्तो प्रवृत्तिलाई गम्भीर चुनौतीको रूपमा व्याख्या गर्दै आम नागरिक, विशेषगरी युवावर्गलाई सजग रहन आग्रह गरेको छ।

ब्यूरोका अनुसार, केही व्यक्तिहरूले AI प्रविधिको प्रयोग गरी अर्काको तस्बिर वा आवाज जथाभावी प्रयोग गर्दै आपत्तिजनक तथा भ्रामक सामग्री तयार पारेर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने, गलत सन्देश फैलाउने, र डिजिटल माध्यमबाट समाजमा उच्छृंखलता फैलाउने गतिविधि दोहोरिइरहेको छ। यस्तो क्रियाकलापले व्यक्तिको व्यक्तिगत तथा सामाजिक प्रतिष्ठामा गम्भीर असर पुर्‍याउने मात्र नभई विद्यमान साइबर कानुनअनुसार आपराधिक दायराभित्र पर्छ।

“सोच–विचार गरेर जिम्मेवार ढंगले डिजिटल प्लेटफर्मको प्रयोग गर्नुहोस्। अन्यथा कानुनी कारबाहीको सामना गर्नुपर्ने हुन्छ,” ब्यूरोको भनाइ छ।

ब्यूरोले गलत नियतले सामग्री निर्माण गर्ने तथा अरूको सम्मानमा आँच पुर्‍याउने किसिमका ‘न्यूजजस्ता’ सामग्री, मिम्स, वा एडिटेड सामग्रीको वितरणमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ। ब्यूरोले AI जस्तो आधुनिक प्रविधिको प्रयोग सकारात्मक र उत्पादक कार्यमा केन्द्रित गरिनुपर्नेमा जोड दिएको छ।

डिजिटल आर्थिक प्रणाली र प्रविधिमा नेपालले अगाडि बढिरहेको वर्तमान अवस्थामा, सामाजिक सञ्जालको दुरुपयोगले साइबर सुरक्षामा गम्भीर चुनौती उत्पन्न गरिरहेको छ। यसकारण प्रविधिको प्रयोगसँगै डिजिटल नैतिकता र उत्तरदायित्व पनि अपरिहार्य भएको विश्लेषकहरू बताउँछन्।

  • KBL Ad