कास्कीको रुपा गाउँपालिकाले पालिकाका सबै नागरिकको स्वास्थ्य बीमा गरिदिने भएको छ। रुपामा कुल तीन हजार ५०० घरपरिवार रहेकामा हालसम्म ५०० परिवारको बीमा गरिसकिएको र बाँकीलाई समेत सहभागी गराइने गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए।
उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जनाको परिवारको बीमा गर्दा लाग्ने तीन हजार ५०० रुपैयाँको ५० प्रतिशत गाउँपालिकाले व्यर्होने छ। बीमाका लागि अनुदान दिन पालिकाले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको ओझाले बताए। उनले भने, ‘स्वास्थ्योपचार सेवा नागरिकको मौलिक अधिकार हो। स्वास्थ्य बीमामार्फत नागरिकको स्वास्थ्योपचार सेवामा पहुँच वृद्धि गर्नेगरी माौलिक हकको कार्यान्वयनको काम गरेका छौँ।’
त्यसैगरी, गाउँपालिकाले स्थापना गरेको रुपा अस्पतालमा सोमबारदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ। बीमा बोर्डसँगको सहकार्यमा रुपा अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम गरिएको हो। पालिकाभित्रको स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम नहुँदा जनताले सेवा लिन पोखरा धाउनुपर्ने र विभिन्न समस्या पनि झेल्नुपर्ने भएकाले त्यसलाई सहज बनाउन स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरिएको गाउँपालिकाले जनाएको छ।
रुपा अस्पतालमा हाल दुई चिकित्सकसहित २८ जना स्वास्थ्यकर्मी अस्पतालमा कार्यरत रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले जानकारी दिए। अस्पतालमा आगामी वर्षदेखि दन्त उपचार सेवा विस्तार गर्ने योजना छ। सो अस्पताल सञ्चालनका लागि पालिकाले वार्षिक ५० लाख रुपैयाँ खर्च गर्दै आएको बरालले बताए।