नक्कली जग्गाधनी श्रेस्ता बनाई बैंकमा धितो राखेर १ करोड २० लाख रुपैयाँ कर्जा लिन सघाएको आरोपमा मुक्तिनाथ विकास बैंक बाँके शाखाका प्रबन्धक अशोक कोइरालासहित चार जना पक्राउ परेका छन्।
बाँके जिल्ला प्रहरी कार्यालयका अनुसार बैंकको लोन शाखामा कार्यरत राजन थापा, जिल्ला मालपोत कार्यालय बाँकेकी लेखनदास श्रीधरा वली र यसअघि पक्राउ परेका सोही शाखाका कर्मचारी सञ्जय यादव पनि उक्त काण्डमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यस घटनाले मुक्तिनाथ विकास बैंकको कर्जा व्यवस्थापन प्रणालीप्रति गम्भीर प्रश्न खडा गरेको छ। बैंकिङ नियमन तथा सुपरीवेक्षणको दायित्व रहेको नेपाल राष्ट्र बैंकले पनि यस घटनालाई गम्भीर रूपमा लिनुपर्ने देखिन्छ।
मुक्तिनाथ विकास बैंकले वित्तीय पारदर्शिता र सुरक्षा प्राथमिकता दिने दाबी गर्दै आएको भए पनि पछिल्ला घटनाले बैंक भित्रकै कर्मचारीको संलग्नता र नियमन प्रणालीको कमजोरी देखाएको छ। यो घटनाले बैंकिङ प्रणालीमा भरोसा घटाउने खतरा बढाएको छ।
बैंकिङ प्रणालीभित्र यस्ता अनियमितता दोहोरिन नदिन नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायले कठोर कदम चाल्नुपर्ने विज्ञहरूको धारणा छ। पक्राउ परेकामाथि हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।