काठमाडौं : कृषि तथा पशुपन्छी बिमा ‘रियल टाइम सफ्टवेयर’ अनलाइन प्रणालीबाट सुरु गरेको २ महिनामा ८ हजार १ सय ८९ किसान लाभान्वित भएका छन्। उक्त संख्याका किसानहरूको बिमालेखबाट बिमा कम्पनीहरूले ८ करोड ३ लाख ६९ हजार रुपैयाँबराबरको कुल बिमाशुल्क आर्जन गरेका छन्। तर उक्त बिमा शुल्कमा किसानहरूले १ करोड ७६ लाख ५५ हजार रुपैयाँ बिमा शुल्कमात्रै बुझाउनु परेको छ भने बाँकी सबै सरकारले अनुदानबापत प्रदान गरेको छ। उक्त कुल बिमा शुल्कमा सरकारले अनुदानबापत ६ करोड २७ लाख १४ हजार रुपैयाँ बिमा कम्पनीहरूलाई भुक्तानी गर्नेछ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत कात्तिकमै अनलाइन प्रणाली सञ्चालन घोषणा गरे पनि नेपाल बिमा प्राधिकरणले गत मंसिर १६ गतेदेखि सुरुवात गरेको थियो। अनलाइन प्रणाली लागू भएदेखि माघ १८ गते सम्ममा किसानहरूबाट १० हजार ३ सय ७२ आवेदन परेको छ। आवेदनमध्ये ८ हजार १ सय ८९ किसानको बिमालेख जारी भइसकेको छ। हालसम्म कुल आवेदन दिनेमध्ये अधिक पशुधनमा छन् भने तरकारी बालीमा न्यून देखिन्छन्। कुलमध्ये पशुधनतर्फ १० हजार ३ सय ७० र तरकारी बालीतर्फ ५४ आवेदन परेको छ। जसमध्ये पशुधनमा मात्रै ८ हजार १ सय ५२ र तरकारी बालीमा ३९ बिमालेख जारी भएको छ।