लक्ष्मी सनराइज बैंकको नेतृत्वमा ७७.५ मेगावाट घुन्सा खोला जलविद्युत आयोजना लगानी सम्झौता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लक्ष्मी सनराइज बैंकको नेतृत्वमा ७७.५ मेगावाट घुन्सा खोला जलविद्युत आयोजना लगानी सम्झौता

काठमाडौं : लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले रेमिट हाइड्रो लिमिटेडसँग ताप्लेजुङस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सहमति गरेका छन्। ७७.५ मेगावाट क्षमताको यो परियोजनाको कुल लागत १८ अर्ब १३ करोड रुपैयाँ रहेको छ, जसले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

घुन्सा खोला जलविद्युत आयोजनाले २०७९ साल साउन ८ गते विद्युत विकास विभागबाट निर्माण अनुमति प्राप्त गरेको थियो भने २०८१ वैशाख २१ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता सम्पन्न गरिसकेको छ।

नेपाल विद्युत प्राधिकरण, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) र विद्युत उत्पादन कम्पनी लिमिटेडको संयुक्त लगानीमा प्रवर्द्धित यस आयोजनामा ५१ प्रतिशत स्वामित्व संस्थागत लगानीकर्ताहरूको रहनेछ। परियोजनाको ७० प्रतिशत लागत सहवित्तीयकरणमार्फत बैंक तथा वित्तीय संस्थाहरूले व्यहोरिनेछन्, जबकि बाँकी ३० प्रतिशत प्रवर्द्धकहरूबाट जुटाइनेछ।

लक्ष्मी सनराइज बैंकले ५ अर्ब रुपैयाँ परियोजना ऋण प्रतिबद्धता जनाएको छ। अन्य सहवित्तीयकरण सहभागी संस्थाहरूमा HIDCL (३ अर्ब), नागरिक लगानी कोष (२ अर्ब), माछापुच्छ्रे बैंक (१ अर्ब ४४ करोड) र एभरेस्ट बैंक (१ अर्ब २५ करोड) गरी कुल १२ अर्ब ६९ करोड ४० लाख रुपैयाँको लगानी सुनिश्चित गरिएको छ।

यो आयोजना डिसेम्बर २०३० सम्म सम्पन्न भई वार्षिक करिब ४६२.२८ गिगावाट-आवर विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। राष्ट्रिय प्रसारण लाइनमा विद्युत आपूर्ति भएसँगै "नेपालको पानी, जनताको लगानी" अवधारणाअन्तर्गत जनताको जलविद्युत कार्यक्रममा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

  • MBL - below news