लक्ष्मी सनराइज बैंकद्वारा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सचेतना भिडियो सार्वजनिक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लक्ष्मी सनराइज बैंकद्वारा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सचेतना भिडियो सार्वजनिक

काठमाडाैँ । लक्ष्मी सनराइज बैंकले सम्पत्ति शुद्धीकरण निवारण (AML) सम्बन्धी सचेतना अभिवृद्धि गर्न विशेष भिडियो सामग्री सार्वजनिक गरेको छ। डिजिटल बैंकिङ प्रणालीको बढ्दो प्रयोगसँगै वित्तीय अपराधको जोखिम पनि बढिरहेको छ। यही सन्दर्भमा, बैंकले ग्राहक तथा नागरिकलाई वित्तीय कारोबारमा पारदर्शिता, कानुनी पालना र साइबर सुरक्षाको महत्त्वबारे सचेत गराउने उद्देश्यले यो सामग्री प्रस्तुत गरेको छ।

सम्पत्ति शुद्धीकरण (Money Laundering) एक गम्भीर वित्तीय अपराध हो, जसअन्तर्गत गैरकानुनी रूपमा आर्जित रकमलाई वैध देखाउने प्रयास गरिन्छ। यस्तो अपराध आतंकवाद वित्त पोषण, कर छली, भ्रष्टाचार, तथा अन्य गैरकानुनी गतिविधिसँग जोडिन सक्छ। नेपाल राष्ट्र बैंक लगायत नियामक निकायहरूले AML नियमको कडाइका साथ पालना गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिँदै आएका छन्। लक्ष्मी सनराइज बैंकद्वारा जारी गरिएको भिडियो सामग्रीले बैंक खाताको सुरक्षित प्रयोग, डिजिटल कारोबारमा सावधानी, QR कोडमार्फत हुने लेनदेनको जोखिम तथा KYC (Know Your Customer) अद्यावधिकको आवश्यकता जस्ता विषयमा प्रकाश पारेको छ।

बैंकले विशेष रूपमा आफ्ना ग्राहकलाई कुनै पनि अपरिचित वा शंकास्पद वित्तीय गतिविधिमा नजोडिन आग्रह गरेको छ। व्यक्तिगत बैंक खाता वा डिजिटल वालेट अरूलाई प्रयोग गर्न दिनु, अवैध रूपमा रकम स्थानान्तरण गराउनु, वा KYC अद्यावधिक नगर्नु जस्ता गतिविधिले व्यक्तिलाई कानुनी कारबाहीमा पार्न सक्छ। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार, अवैध वित्तीय कारोबारमा संलग्न व्यक्तिलाई कडा जरिवाना वा कैद सजाय हुन सक्ने व्यवस्था छ।

डिजिटल वित्तीय सुरक्षालाई प्रवर्द्धन गर्न लक्ष्मी सनराइज बैंकले आगामी दिनहरूमा पनि यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। बैंकिङ प्रणालीलाई सुरक्षित र पारदर्शी बनाउन ग्राहकहरूको सचेतता अत्यन्त आवश्यक छ। डिजिटल बैंकिङको प्रयोग गर्दा आत्म-जिम्मेवारी अपनाउँदै सम्पत्ति शुद्धीकरण निवारणका उपायहरूलाई व्यवहारमा उतार्न बैंकले सबैलाई आग्रह गरेको छ।

  • MBL - below news