नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समीक्षा: मुद्रास्फीति नियन्त्रण र आर्थिक वृद्धिका लागि लचिलो रणनीति


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समीक्षा: मुद्रास्फीति नियन्त्रण र आर्थिक वृद्धिका लागि लचिलो रणनीति

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै मौद्रिक नीति कार्यान्वयनमा निरन्तरता दिने निर्णय गरेको छ। यस नीतिको मुख्य उद्देश्य भनेको मूल्य स्थिरता र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलापको विस्तारमा थप सहयोग पुर्याउनु हो। लचिलो रणनीतिहरू अपनाउँदै, राष्ट्र बैंकले मौद्रिक नीति कार्यदिशा यथावत राख्ने निर्णय गरेको छ, जसले आर्थिक स्थायित्व सुनिश्चित गर्न र मुद्रास्फीतिलाई नियन्त्रण गर्न मद्दत गर्ने लक्ष्य राख्दछ।

राष्ट्र बैंकले मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशतमा यथावत राखेको छ। यससँगै, निक्षेप संकलन दर ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखेको छ । मौद्रिक औजार र नियामकीय औजारमा कुनै परिवर्तन नगरी यस नीतिको कार्यान्वयनमा निरन्तरता दिइने जनाइएको छ। यस निर्णयले मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको अवस्थालाई ध्यानमा राख्दै तरलता व्यवस्थापनमा सहयोग पुर्याउने लक्ष्य राखेको छ।

नेपाल राष्ट्र बैंकले यस वर्षको वार्षिक औसत मुद्रास्फीति ५ प्रतिशतको सीमा भित्र रहने अनुमान गरेको छ। तथापि, भारतमा खाद्यान्नकाे मूल्यवृद्धि र अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलाका समस्याले उपभोक्ता मूल्यमा चाप पार्ने जोखिम यथावत रहेको छ। पेट्रोलियम पदार्थको मूल्य स्थिर रहनाले गैरखाद्य वस्तुहरूको मूल्यमा थप चाप नपर्ने अनुमान गरिएको छ।

आर्थिक वृद्धिका लागि राष्ट्र बैंकले पर्यटक आगमनमा वृद्धि, सूचना प्रविधि क्षेत्रको विस्तार र जलविद्युत आयोजनाहरूको प्रगति जस्ता अवसरहरूको संकेत दिएको छ। यद्यपि, २०८१ असोजमा अाएकाे  भारी वर्षा र  पहिरोबाट भएको करिब ४६ अर्बको क्षतिका कारण सार्वजनिक वित्त व्यवस्थापनमा थप दबाब सिर्जना हुन सक्ने चेतावनी दिइएको छ।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८१/८२ को पहिलो त्रैमासिक समीक्षा सुधारात्मक प्रयासको रुपमा प्रस्तुत गरिएको छ । जसले अर्थतन्त्रलाई स्थिर राख्न र वृद्धिमा सहयोग पुर्याउने लक्ष्य राखेको छ। यद्यपि, बाह्य जोखिम र मुद्रास्फीति नियन्त्रणका चुनौतीहरू अझै कायम छन् । जसले नीति कार्यान्वयनमा सावधानी र अनुगमनको आवश्यकता थप गर्दछ।

  • EBL Ad news