नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक, आफ्नो ८८ औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ। वि.सं. १९९४ साल कार्तिक ३० गते स्थापना भएको यस बैंकले २०८१ साल कार्तिक ३० गते ८७ वर्ष पूरा गरी ८८ औं वर्षमा प्रवेश गरेको हो।
समारोह नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा बैंकको प्रधान कार्यालय प्राङ्गणमा सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता बैंक सञ्चालक समिति अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले गरे।
नेपाल बैंकले देशभर २२९ शाखा, २०५ एटीएम, र ६० एक्सटेन्सन काउन्टरमार्फत २५ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले आधुनिक प्रविधिको प्रयोग गरी ग्राहक सेवामा सुधार गर्दै प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेको छ।
हाल, ९ लाखभन्दा बढी ग्राहकले डिजिटल माध्यमबाट बैंकिङ सुविधा लिइरहेका छन्। बैंकले गुणस्तरीय सेवा र छिटोछरितो प्रविधिमैत्री उपायलाई प्राथमिकता दिंदै युवा जनशक्तिको परिचालनमार्फत सेवा विस्तारलाई अझ मजबुत बनाएको छ।








