काठमाडौं l नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेड र समाज डेण्टल अस्पतालबीच विशेष छुट सम्बन्धी सम्झौता भएको छ। यो सम्झौताले बैंकका कर्मचारी र ग्राहकलाई अस्पतालका विभिन्न स्थानका क्लिनिकहरुमा उपचार गर्दा विशेष छुटको सुविधा दिनेछ।
सम्झौता अनुसार, नेपाल बैंक लिमिटेडका कर्मचारीहरूले उपचार शुल्कमा १५ प्रतिशत छुट पाउनेछन् भने बैंकमा खाता भएका ग्राहकहरूले १० प्रतिशत छुट प्राप्त गर्नेछन्।
काठमाडौंका नयाँ बानेश्वर, बसुन्धरा, पेप्सीकोला, जोरपाटी, सितापाइला, भक्तपुरको कौशलटार, ललितपुरको जावलाखेल र ईमाडोल, साथै काभ्रेको बनेपामा अवस्थित समाज डेण्टल अस्पतालका क्लिनिकहरुबाट ग्राहक र कर्मचारीले उच्चस्तरीय दन्त र मुख स्वास्थ्य सेवाहरूको लाभ लिन सक्नेछन्।
यस सम्झौताले स्वास्थ्य सेवा र वित्तीय संस्थाबीच सहकार्यको उदाहरण प्रस्तुत गर्दै, बैंकका कर्मचारी र ग्राहकहरूको स्वास्थ्य संरक्षणमा थप सहयोग पुर्याउने विश्वास गरिएको छ।








