मेगा बैंक १०औँ वर्षमा : सोच मिल्ने वित्तीय संस्थासँग मर्जरको तयारी


Naya Patrika 2076-4-8


Naya Patrika

मेगा बैंकले आफूसँग सोच मिल्ने बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने भएको छ । मेगाले सरकारको ‘मर्जर’ नीतिलाई आत्मसात् गर्दै उपयुक्त पार्टनरसँग मर्जरमा जान तयार रहेको जनाएको हो । मेगा बैंकको नवौँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले आफूहरू मर्जरका लागि तयार रहेको बताए । ‘सरकारको मर्जर नीतिलाई आत्मसात् गर्दै मेगा बैंकले मर्जर कमिटी बनाएर अघि बढेको छ,’ उनले भने, हामीसँग सामीप्यता राख्ने र सोच मिल्ने वित्तीय संस्थालाई आबद्ध गर्दै अझ सशक्त र व्यवस्थित ढंगले अगाडि बढ्नुको विकल्प हामीसँग छैन ।’ बैंकको परिचय तथा आर्जन गरेको भरोसा र विश्वासलाई कायम राख्ने गरी मर्जरमा जाने उनले बताए । बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीले मेगा बैंकले मर्जरका लागि तयारी गरिरहेको बताइन् । उनले मर्जरका सम्बन्धमा ५० प्रतिशत काम पूरा भइसकेको जानकारीसमेत दिइन् । ‘कमिटी गठन भएको छ, कर्मचारी व्यवस्थापनका कुराहरू पनि छन्, त्यसको काम भइरहेको छ,’ उनले भनिन्, ‘हामी मर्जरमा तयार छौँ, तयारी भइरहेको छ ।’

Read More
  • Financial Notices