काठमाडौं : झन्डै महिना दिन भयो । रत्नपार्कको छेउ, शान्तिबाटिकाको गेटमा एउटा त्रिपाल टाँगिएको छ । त्यसभित्र एउटा शव राख्ने काठको बाकस छ । त्यसमाथि राजेन्द्र स्थापितको फोटो छ । फोटोमाथि चढाइएको सयपत्रीको माला ओइलाइसकेको छ । तर, राजेन्द्रका पीडित परिवारले न्याय पाएका छैनन् ।
शंखमूलका ६२ वर्षीय राजेन्द्र स्थापितले न्युरोडको युवा विकास बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थामा १ करोड ३६ लाख रकम जम्मा गरेका थिए । एक्कासि उनको ब्रेन ह्यामरेज भयो । उनलाई वीर अस्पताल भर्ना गरियो । तत्कालै अप्रेसन गर्नुपर्ने डाक्टरले सुझाव दिए । त्यसका लागि ठूलै रकमको आवश्यक्ता थियो । परिवारसँग अप्रेसनका लागि अन्य आयस्रोत भएन । सहकारीका पदाधिकारीसँग बचत फिर्ता गरिदिन आग्रह गरे ।