काठमाडौं : पछिल्लो समय अर्थतन्त्र कमजोरबाट परेको चौतर्फी प्रभाव बिमा व्यवसायमा पनि देखिएको छ। समग्रमा जीवन बिमा व्यवसायको अवस्था सामान्य देखिए पनि गत आवको तथ्यांक केलाउँदा यसअघि जारी बिमालेखबाट भएको नवीकरण शुल्कले समग्र जीवन बिमा व्यवसाय टिकाएको देखिन्छ।
सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीमा गत आर्थिक वर्षमा कुल १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ बराबरको बिमाशुल्क संकलन भएको छ। कुल बिमाशुल्क अघिल्लो आवको भन्दा केही बढेकै छ। अर्थात् कम्पनीहरूको बिमाशुल्क संकलन वार्षिक ९.८२ प्रतिशतले वृद्धि भएको छ। यसअघि आव २०७९/८० मा १ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका थिए।