आन्तरिक संकटको भुमरीमा एनआइसी एसिया बैंक : ग्राहकको विश्वासमा धरमराहट, सेयरधनीको सम्पत्तिमा असर


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
आन्तरिक संकटको भुमरीमा एनआइसी एसिया बैंक : ग्राहकको विश्वासमा धरमराहट, सेयरधनीको सम्पत्तिमा असर

काठमाडौं । श्रीस्वस्थानीमा एउटा कथा चर्चित छ– शिव भट्ट ब्राह्मण र सती ब्राह्मणीको सन्तान नभएपछि उनीहरुले श्रीगणेशको पूजा गरे । कठोर तपस्यासँगै श्रीगणेश प्रसन्न भएपछि उनीहरुलाई छोरी वर दिए तर वरदानबाट प्राप्त छोरीको जन्म गर्भबाट नभएर गाईको गोबरबाट हुने भयो । भुइँमा नझरेको गोबरलाई लगेर तसलाले छोपेको चार दिनपछि त्यो गोबरले सुन्दर कन्याको रुपधारण गरिन् । तिनै बालिकाको नाम गोमा ब्राह्मणी राखियो ।
 
नेपालमा सबैभन्दा प्रचलित स्वस्थानीको यो कथाबारे अनभिज्ञ कमै होलान् । यो कथाले समाजमा कस्तो सन्देश दिन खोजेको हो भन्ने कुरा बुझ्ने र बुझाउने तौरतरिकामा भने व्यापक अन्तर छ। तर, एउटा प्रस्ट कुरा चाहिँ के छ भने ‘मिलाउन सके गोबरको थुप्रोबाट पनि सुन्दर बालिकाको सिर्जना गर्न सकिन्छ’ भन्ने मान्यता चाहिँ परापूर्व कालदेखि नै प्रचलित छ।

यहाँ यही प्रसङ्ग नेपालको एक वाणिज्य बैंक अर्थात्, एनआइसी एशिया बैंकसँग जोड्न सकिन्छ । उच्च गैरबैंकिङ सम्पत्ति, वित्तीय सूचकहरुमा छेडखानी र गलत रिपोर्टिङको आरोप लाग्दै आएको उक्त बैंकले समस्यै समस्याको गोबरलाई विभिन्न प्रभावको आधारमा छोपेर राखेको छ । तर, त्यसरी छोपिएका समस्याको पोको भने दिनदिनै बढ्दै गइरहेको देखिन्छ । समस्यालाई समाधान गर्नेतिर भन्दा लुकाएर टार्न सकिन्छ भन्ने मानसिकताले बैंकको भविष्य कहाँ पुग्ला भन्ने आशङ्काको वृद्धिमा जोड दिएको छ । 

कुनै समय संकटग्रस्त भनेर चिनिँदै आएको एनआइसी एशिया बैंकले राष्ट्र बैंकदेखि मिडिया क्षेत्रसम्मको म्यानेजमेन्ट समेत गर्न सफल भएको भन्ने खुलमखुला दाबी गर्दै आएको छ । अल्पकालीन रुपमा बैंकको निक्षेप पलायन रोक्न यो सफलता जस्तो देखिए पनि यसबिचमा आफ्ना वित्तीय अवस्था ठिकठाक गर्नुको सट्टा झनै संकटतर्फ धकेलेको देखिएको छ । हेरौँ केही प्रसङ्ग । 

प्रसङ्ग १

२०८० को पुसताका बैंकिङ क्षेत्रमा सबैभन्दा चर्चित प्रसङ्ग थियो, बैंकहरुको गैरबैंकिङ सम्पत्ति । बैंकहरुमा झन्डै २४ अर्बको गैरबैंकिङ सम्पत्ति हुँदा पहिलो नम्बरमा थियो, एनआइसी एशिया बैंक । उक्त बैंकसँग मात्रै झन्डै ३ अर्ब ४० करोड रुपैयाँ गैरबैंकिङ सम्पत्ति थियो । यो भनेको बैंकको लगभग एक वर्षको नाफा बराबर हो ।

चैत मसान्तसम्मको तथ्याङ्क हेर्दा एनआइसी एशियाको गैरबैंकिङ सम्पत्ति बढेर ४ अर्ब १० करोड रुपैयाँ पुगेको छ । यो अवधिमा करिब ७० करोडको गैरबैंकिङ सम्पत्ति बढेको छ । समग्र बैंकिङ क्षेत्रको गैरबैंकिङ सम्पत्ति पनि यो अवधिमा बढेर २७ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । तर, समग्र बैंकिङ क्षेत्रको वृद्धिदरभन्दा एनआइसी एशियाको गैरबैंकिङ सम्पत्ति बढ्ने क्रम अझै बढी छ ।

प्रसङ्ग २

पुस मसान्तकै तथ्याङ्क हेर्ने हो भने बैंकको निष्क्रिय कर्जा अनुपात १.१९ प्रतिशत थियो । बैंक डुब्छ भनेर बजारमा हल्ला चलिरहँदा बैंकले के भन्थ्यो भने ‘हामी अहिले पनि बैंकिङ क्षेत्रकै सबैभन्दा कम निष्क्रिय कर्जा अनुपात भएको बैंक हौँ ।’ अझै बैंकले देखाएको खुद निष्क्रिय कर्जाको आधारले हेर्ने हो भने त बैंकको समस्या एउटा वकबास मात्रै हो जस्तो लाग्थ्यो ।
 
चैत मसान्तमा आइपुग्दा बैंक बजारहल्लाको हिसाबले निकै सहज अवस्थामा आइसकेको थियो । निक्षेप पलायनको दर पनि केही कम भएकै थियो । तर, निष्क्रिय कर्जाको अनुपात यसरी आकासियो कि यो ३.०८ प्रतिशत पुग्यो । तीन महिनामा बैंकभित्र कस्तो समस्या देखियो जसले निष्क्रिय कर्जा अनुपात एकैपटक डेढ गुणाभन्दा धेरै बढायो, अहिले बैंकले जवाफ दिन चाहेको छैन किनभने समस्यालाई लुकाएरै अनन्तकालसम्म लम्ब्याउन सकिन्छ भन्ने ध्याउन्न बैंकको रहेको देखिन्छ । 

अहिले एनआइसी एशिया बैंकसँग रहेको प्रोभिजनिङले अहिलेको निष्क्रिय कर्जा धान्न नसक्ने अवस्थामा पुगिसकेको छ । अर्थात् यसको सिधा असर अब सेयरहोल्डरको सम्पत्तिमा पर्न गएको छ । बैंकसँग अहिले ११.२९ प्रतिशत बराबर पुँजीकोष अनुपात छ भने १.७६ प्रतिशत खुद निष्क्रिय कर्जा छ । खुद निष्क्रिय कर्जा भनेको सेयरहोल्डरको सम्पत्तिमा सिधा असर गर्ने सूचक हो । 

फर्केन ग्राहकको विश्वास

बैंकले बजारमा बाहिरिएको समस्यालाई छोप्दै आएको भए पनि अहिलेसम्म ग्राहकको विश्वास जित्न भने सकेको छैन । तुलनात्मक रुपमा हेर्ने हो भने पुस मसान्तको तुलनामा बैंकमा झन्डै ५० अर्बको निक्षेप घटेको छ । पुस मसान्तसम्म एनआइसी एशियाको निक्षेप ३ खर्ब ८१ अर्ब रुपैयाँ थियो । चैत मसान्तमा यस्तो निक्षेप ३ खर्ब ३१ अर्ब रुपैयाँमा झरेको छ । 

बैंकिङ क्षेत्रमा ब्याजदरको प्रभाव निकै संवेदनशील हुन्छ । एक आधारविन्दु ब्याजदरले पनि करोडौं प्रभाव पार्ने भएकोले बैंक तथा वित्तीय संस्थाहरुले अहिले निक्षेप तथा तरलता व्यवस्थापनका लागि यसलाई औजारको रुपमा प्रयोग गर्ने गर्छन्। घटेको निक्षेपलाई रिभाइभ गर्न बैंकले सबैभन्दा धेरै ब्याजदर तोक्दै आएको छ । बैंकले एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ७.५ प्रतिशत ब्याजदर तोकेको छ, यो ब्याजदर अर्को सबैभन्दा धेरै ब्याजदर दिने बैंकभन्दा ०.५० प्रतिशत विन्दु धेरै हो भने सोही खातामा सबैभन्दा कम ब्याजदर दिने बैंकभन्दा २.५ प्रतिशत विन्दुले कम हो । यसको अर्थ अरु बैंकले ५ प्रतिशतमै निक्षेप उठाइरहेको अवस्थामा ७.५ प्रतिशत दिँदा पनि निक्षेप घट्नुले बैंकप्रति जनताको विश्वास अझै फर्किन नसकेको प्रस्ट हुन्छ ।

  • KBL Ad