काठमाडौं : अमेरिकाले चिनियाँ सामानहरुमा आयात शुल्क बढाएपछि चीनको सेयर बजारमा पनि गिरावट आएको छ । बाइडेन प्रशसानले मंगलबार १८ अर्ब डलरको चिनियाँ आयातमा नयाँ शुल्क तोकेको सीएनबीसीले उल्लेख गरेको छ । ह्वाइट हाउसले अमेरिकी उद्योगहरुलाई अनुचित प्रतिस्पर्धाबाट जोगाउन भन्सार शुल्क वृद्धि आवश्यक भएको बताएको छ ।
यस वर्षदेखि राष्ट्रपति जो बाइडेनले आयातित चिनियाँ विद्युतीय सवारी साधनहरुमा भन्सार शुल्क २५% बाट ४ गुणा बढाएर १००% सम्म पुर्याउने भएका छन् । चिनियाँ सौर्य सेलहरुमा आयात कर २५% बाट दोब्बर बढाएर ५०% पुर्याइने भएको छ । यस्तै, केही चिनियाँ स्टिल र एल्युमिनियम आयातहरुमा पनि शुल्कहरु ३ गुणा भन्दा धेरैले बढ्ने भएको छ । यी वस्तुहरुको भन्सार शुल्क हालको ७.५% बाट बढाएर २५% पुर्याइने भएको हो ।