बाढीले झण्डै २ हजार घरपरिवार विस्थापित


Kantipur Daily 2076-3-27


Kantipur Daily

विराटनगर — लगातारको वर्षाका कारण आएको बाढीले मोरङमा १९ सय २० घर परिवार विस्थापित भएका छन् । विस्थापित हुने अधिकांश खोला किनारमा बसोबार गर्ने शुकुम्बासी घर परिवार रहेका छन् । विस्थापित परिवारलाई स्थानीय जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालय मोरङको सहयोगमा सुरक्षित स्थानमा राखिएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । 

केसीका अनुसार बाढीका कारण सबैभन्दा बढी विराटनगर महानगरपालिका वडा नम्बर १, ८, ६ र १६ प्रभावित बनेको छ । साथै जहदा गाउँपालिका-८, कटहरी गाउँपालिका-४ र धनपालथान गाउँपालिकाको-४ र ५ नम्बर वडाका घरहरु डुबानमा परेका छन् । विस्थापितहरुलाई रेडक्रसको सहयोगमा १ सय बढी त्रिपाल वितरण गरिएको उनले जानकारी दिए । प्रशासन कार्यालयले उद्धार, खोज तथा विपत्तीमा परेकाहरुलाई सुरक्षित स्थानमा लैजाने काम भइरहेको पनि जनाएको छ ।

घरभित्र पानी पसेपछि स्थानीय त्रसित बनेका छन् । घरमा पानी पसेपछि खान बस्न समस्या भएको कटहरी-४ की सरोदेवी शर्माले गुनासो गरिन् । ‘घरभित्र सबै पानी पसेको छ, खाना पकाउने र बस्न सक्ने अवस्था छैन्,’ उनले भनिन्, ‘दिनभरी त सबैतिर पानी पानी रमिता हेर्दै बित्छ तर राती के गर्ने ?’

कटहरी गाउँपालिका ४ स्थित भगवती टोल, फुलटोल मदुरा र गन्नु टोल बढी प्रभावित भएको जागरुक मिसन युवा क्लब कटहरी ४ का अध्यक्ष विनोद सिंहले बताए । फुलटोल मदुरामा मात्रै १ सय २ घर बाढीले गर्दा विस्थापित बनेको सिंहले बताए ।

कटहरी ४ नम्बर वडामा मात्रै २ सय बढी घर बाढीले प्रभावित बनेको वडा अध्यक्ष मन्टु सेखले बताए । घरभित्र पानी पसेका कारण खाना पकाउन समस्या देखिएपछि चिउरा, भुजा र चाउचाउ राहत वितरण गरिएको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली–कानेपोखरी सडक खण्डको कानेपोखरी २ को गेउरिया खोलामा हिजोदेखि बेपत्ता भएका एक व्यक्ति अझै फेला परेका छैनन् ।

अन्दाजी २५/३० वर्षका युवा खोला तर्ने क्रममा खोलाले मोटरसाइकल सहित बगाएको थियो । उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । यस्तै उर्लाबारीमा घाँसको भारीसहित खोलाले बगाएकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ ।

प्रमुख जिल्ला अधिकारी केसीले मोरङका बक्राहा, लोहन्द्रा, सिंघीया र केसलीया खोलामा पानीको बहाब बढेकाले सम्पूर्ण सुरक्षा निकाय र जनप्रतिनिधिलाई सचेत रहन निर्देशन गरिएको जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समिति मोरङले १७ वटै स्थानीय तहहरुलाई सचेत गराएको उनले बताए ।

हरेक स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन भएको र सबैले विपद् व्यवस्थापन कोष खडा गरेर तत्काल राहात र क्षतिपूर्तीको प्रवन्ध गर्नसक्ने अवस्था सृजना गरेका छन् । सबैसँग सरदर करोडको हाराहारीमा विपद् व्यवस्थापन कोष रहेको प्रजिअ केसीले बताए ।

जिल्लाको विपद् व्यवस्थापनको कामलाई सात क्लष्टरमा विभाजन गरेर सबै क्लष्टरलाई तयारी अवस्थामा राखिएको उनले बताए । समन्वय तथा सूचना खोज उद्धार क्लष्टरको नेतृत्व जिल्ला प्रशासन कार्यालयले गर्ने छ । अस्थायी आवास र गैह्र खाद्य क्लष्टरको नेतृत्व भवन डिभिजन कार्यालयले गर्छ भने आपतकालीन शिक्षामा जिल्ला शिक्षा समन्वय इकाइले नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको छ । यस्तै स्वास्थ्य तथा पोषणको काम जिल्ला जनस्वास्थ्य कार्यालयले, खाद्य सुरक्षा र जीविकोपार्जनको क्लष्टरको काम रेडक्रस र गैरसरकारी संस्थाहरुले गर्नेछन् । बन्दोबस्तीको सामान उपलव्ध गराउने काम रेडक्रसलाई दिइएको छ ।

एक सय हेक्टर तरकारी खेती डुबान

 

 

Read More
  • Financial Notices