सम्बन्धित बैंक वित्तीयसँस्था लगायत इन्स्योरेन्स कम्पनीहरुले आफ्नो आधिकारिक फेसबुक पेजमा आर्थिक प्रलोभनयुक्त क्वीज लगायतका अन्य पोस्टहरुको कम्मेन्टमा आउने स्क्यामरहरुका ठगीका कमेन्टहरु बेवास्ता गर्ने गरेको पाइएको छ ।
पछिल्लो समय ठगहरुले सामान्य नागरिक वा बैंकका ग्राहकहरुलाई बैंकहरुको आर्थिक प्रलोभनयुक्त “कमेन्ट एन्ड विन” जस्ता पोस्टमा उपलब्ध कमेन्टको आधारमा सोसियल इन्जिनियरिङ गरी आर्थिक प्रलोभनयुक्त मेसेज गर्ने, च्याट गर्ने, ह्वाट्स एप, एसएमएस गर्ने, भाइबर, इमो लगायतका सामाजिक सञ्जालको प्रयोग गर्ने, फोन कलको समेत प्रयोग गरी मनोवैज्ञानिक सङ्गत क्रियाकलापबाट मानिसको विश्वास जित्न सफल भई सोझासाझा व्यक्तिहरुलाई ठगी गर्ने, डाटा चोर्ने तथा बेच्ने, संस्थाको नाम प्रतिष्ठा तथा वित्तमा क्षति पुर्याउने जस्ता कार्य गरी ठगी गर्ने प्रयासहरु भइरहेको पाइएको छ ।
पछिल्लो समय ठगहरुले सामान्य नागरिक वा बैंकका ग्राहकहरुलाई बैंकहरुको आर्थिक प्रलोभनयुक्त “कमेन्ट एन्ड विन” जस्ता पोस्टमा उपलब्ध कमेन्टको आधारमा आर्थिक प्रलोभनयुक्त च्याट गर्ने, मेसेज गर्ने, ह्वाट्स एप, एसएमएस गर्ने, भाइबर, इमो लगायतका सामाजिक सञ्जालबाट फोन गरी ठगी गर्ने प्रयासहरु भइरहेको पाइएको छ।
उदाहरणको रुपमा हेर्ने हो भने हालसालै माछापुछ्रे बैंकले आफ्नो आधिकारिक फेसबुक पेजको पोस्टमा स्क्यामरहरुले राखेको ठगी गर्ने अनावश्यक टेलिग्राम लिङ्क (नेपालमा कानुनी रुपमा बर्जित गरिएको Binance क्रिप्टोकरेन्सीको ग्रुप अकाउन्ट लिङ्क) खुलेआम कमेन्टमा देखिँदा पनि सम्बन्धित बैंकले यो समाचार तयार पार्दासम्म पेजबाट हटाइएको देखिँदैन । उक्त लिङ्कमा क्लिक गरी सहभागीहरु सहजैै स्क्यामरको फन्दामा पर्ने देखिन्छ।
ठगीकर्ताले उक्त टेलिग्राम लिङ्कमा ““WE GUARANTEE THE BEST TRADE STRATEGIES IN THE BUSINESS TRADE WISELY AND GAIN MASSIVELY , INVEST NOW AND WATCH YOUR MONEY GROW LIKE A TREE % GUARANTEED.. INVESTMENT IS THE ONLY KEY TO FINANCIAL…." लेख्दै प्रलोभनयुक्त वाक्यहरु लेखेर सहभागीहरुलाई उक्त ग्रुपमा जोडिन उत्प्रेरित गरेको देखिन्छ ।
त्यसैगरी अर्को उदाहरणको रुपमा नेपाल लाइफ इन्स्योरेन्सको मिति २०८० असोज ११ गतेको पोस्टमा स्क्यामरहरुले लिङ्क दिँदै गर्दा पनि यो समाचार तयार पार्दासम्म सम्बन्धित कम्पनीको ध्यान गएको देखिँदैन ।
उक्त टेलिग्राम Link मा स्क्यामरहरुले 'BITCOIN TRADING COMMUNITY' नाम दिइएको उक्त ग्रुपमा 235 subscribers देखिन्छ । साथै त्यसमा Account manager, Expert trader, Bitcoin minner, Perfect signals, payment method... लेख्दै सहभागीहरुलाई उक्त ग्रुपमा जोडिन उत्प्रेरित गरेको देखिन्छ ।
त्यस्तै इसेवा डिजिटल वालेटको असोज १० गतेको पोष्टमा पनि स्क्यामरहरुले कमेन्टगर्नेहरुलाई आर्थिक प्रलोभन युक्त लिङ्कहरु सेयर गरीराखेको देख्न सकिन्छ । हामीले यो समाचार तयारपार्दा समेत कम्पनीले कमेन्ट हटाएको देखिदैन।
उक्त लिङ्कमा क्लिक गर्दा विभिन्न आर्थिक प्रलोभन युक्त क्रिप्टोको लिङ्कहरु कमेन्टपिच्छे फरक फरक भेटिन्छन् । यसले उक्त पोस्टमा कमेन्ट गर्नेहरुलाई क्रिप्टो ग्रुपमा सहभागी हुन उत्प्रेरित गरेको देखिन्छ ।
यसरी कमेन्ट सेक्सनमा लिङ्क राखेर वा च्याटबाट नै केही मालवेयर जस्तो खराब वेबसाइटहरूको लिङ्कहरू पठाएर क्लिक गर्न लगाउने अनि पासवर्ड वा अन्य गोप्य संवेदनशील डाटा चोर्ने, पुरस्कार दाबीको लागि क्रेडिट कार्ड नम्बरहरु प्रविष्ट गर्न लगाई ठगी गर्ने पनि गर्दछन् ।
स्क्यामरहरुले उक्त पोस्टमा कमेन्ट गर्ने ग्राहकहरुको सोसियल इन्जिनियरिङ गरी सहभागीहरुलाई KYC Update को बहानामा फोन कल मार्फत् विवरण सङ्कलन गरी ठगीमा प्रयोग गर्न सक्दछन्। स्क्यामरहरुले व्यक्तिगत जानकारीहरु जस्तै प्रयोगकर्ताहरुको नाम, जन्ममिति, बासस्थान, साथीसँगीहरुको जानकारीलाई पहिचान गरी ठगीका लागि प्रयोग गर्न सक्छन्।
सामान्यत स्क्यामरले म बैंकबाट हो, तपाईँले हाम्रो बैंकको क्विज प्रोग्राममा भाग लिनुभएको रहेछ भनी कसैलाई च्याटबाट नै जालमा पार्न खोज्दछन् त कसैलाई च्याटमा फोन नम्बर मागेर तपाईँले अस्तिको पुरस्कार/चिट्ठा जित्नुभएको छ भनी आर्थिक प्रलोभनमा पारी उसको गोप्य विवरण बैंक खाता, पासवर्ड, ओटिपी मागी ठगी गर्ने गर्दछन्।
त्यस्तै सामाजिक सञ्जालमार्फत् सम्बन्धित बैंक तथा इन्स्योरेन्स कम्पनीले जस्तै प्रतियोगिताका भाग्यशाली विजेतालाई हार्दिक बधाई छ भन्दै उक्त प्रयोगकर्तालाई म्यासेज पठाउन थाल्दछ । कृपया, एक हप्ताभित्रमा हाम्रो फेसबुक वा इन्स्टाग्राममा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ भन्ने जस्ता अनेकौँ उपाय स्क्यामरले लगाउने गर्दछन् ।
यी त स्क्यामरहरुले ठगीका लागि प्रयोग गर्ने प्रतिनिधि उदाहरण मात्र हुन् । स्क्यामरहरुले विभिन्न समय व्यक्तिपिच्छे फरक–फरक तौरतरिका अवलम्बन गरी ठगी गरिराखेका हुन्छन् । सामान्यत स्क्यामरहरुले कति वर्षको मान्छे हो, के काम गर्छ, के कस्ता गतिविधिमा बढी सामेल हुन्छ भन्ने सामान्य सामाजिक सञ्जालको प्रोफाइल हेरेर पनि ठगीका तौरतरिका अवलम्बन गर्ने गर्दछन् ।
यी त स्क्यामरहरुले ठगीका लागि प्रयोग गर्ने प्रतिनिधि उदाहरणहरु मात्र हुन् । स्क्यामरहरुले विभिन्न समय व्यक्तिपिच्छे फरक–फरक तौरतरिका अवलम्बन गरी ठगी गरिराखेका हुन्छन् । सामान्यत स्क्यामरहरुले कति वर्षको मान्छे हो, के काम गर्छ, के कस्ता गतिविधिमा बढी सामेल हुन्छ भन्ने सामान्य सामाजिक सञ्जालको प्रोफाइल हेरेर पनि ठगीका तौरतरिका अवलम्बन गर्ने गर्दछन् । अन्ततः सामाजिक सञ्जाल प्रयोगकर्ता आर्थिक प्रलोभनमा परी स्क्यामरको जालमा पर्न पुग्दछन् ।
बैंक तथा वित्तीय संस्थाहरु लगायत इन्स्योरेन्स कम्पनीहरुले वित्तीय साक्षरताका साथै डिजिटल साक्षरतामूलक पोस्ट, सन्देश दिनुको सट्टा आर्थिक प्रलोभनयुक्त सामाजिक सञ्जालमा यस्ता गतिविधिहरूको प्रवद्र्धन गर्दा प्रयोगकर्ता ग्राहकको व्यवहारमा नकारात्मक प्रभाव परी अनलाइनमा हुने ठगी कार्यमा अन्जानमा नै सामेल हुन उत्प्रेरित गर्दछ ।
यस्ता सम्भावित नतिजाहरूबारे सचेतता अपनाउन जरुरी हुन्छ । रमाइलोको लागि या लाइक र सेयर बढाउनकै लागि यस्ता गतिविधिमा सामेल हुँदा स्क्यामरहरुलाई सहयोग पुग्ने गर्दछ । वित्तीय घाटा र घोटालाहरूको संवेदनशीलता निम्त्याउन सक्ने यस्ता गतिविधिहरूमा बैंक वित्तीयसँस्था, भुक्तानी प्रदायक कम्पनी लगायत इन्स्योरेन्स कम्पनीहरुले आफैँले प्रश्रय दिँदा सम्भावित जोखिमहरूलाई पनि विचार गर्नु महत्त्वपूर्ण मानिन्छ।
सम्बन्धित नियमक निकाय र अन्य वित्तीय संस्थाहरूले प्रयोगकर्ताहरूलाई सम्भावित खतराहरू र सावधानीका उपायहरूबारे साक्षरता जगाउनु आवश्यक देखिन्छ । यस्ता कार्यलाई नजरअन्दाज गर्दा साइबर अपराधका घटनाहरू गर्नेहरुलाई थप प्रोत्साहन मिल्दछ ।
यसको न्यूनीकरणका लागि अनावाश्यक आर्थिक प्रलोभनमा नपर्न र सबै प्रयोगकर्ताहरूका लागि सुरक्षित डिजिटल वातावरणलाई बढावा दिन सामूहिक र सक्रिय उपायहरूको अत्यावश्यकतालाई बढावा दिनु आवश्यक हुन्छ ।
यस्ता कार्यका आर्थिक प्रलोभनयुक्त अफर चलाइराखेका बैंक वित्तीय संस्था, इन्स्योरेन्स लगायतका अन्य कम्पनीका गतिविधि प्रति नियामक निकाय नेपाल राष्ट्र बैंक, नेपाल प्रहरी, नेपाल सरकार, बिमा प्राधिकरण, नेपाल टेलिकम्युनिकेन अथोरिटी (एनटिए) लगायत सम्बन्धित सरोकारवाला निकायहरुको बेलैमा ध्यान जान सके सम्भावित खतराको न्यूनीकरणमा सहयोग पुग्ने देखिन्छ ।
*The news was published in the Year 2, Vol. 2 (14th issue) of the "Financial Literacy" Economic Monthly Magazine. (Ashoj, 2023)