नेपालमा बैंक तथा वित्तीय संस्थाका सञ्चालकलाई नै वित्तीय साक्षरता आवश्यक रहेको छ । वित्तीय क्षेत्रमा नयाँ र प्राविधिक शब्दहरुको विकास हुने भएकाले सामान्य मानिसलाई चाहिनेभन्दा बैंकका सञ्चालकहरुलाई अलि माथिल्लो स्तरको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकले नै सञ्चालन गर्नुपर्ने विज्ञहरुको भनाइ छ।
कतिपय बैंकका सञ्चालकहरुमा सामान्य बैंकिङ र लघुवित्तको बारेमा समेत पर्याप्त ज्ञान नभएको र कतिपयलाई त इ बैंकिङ, मोबाइल बैंकिङ, अन्तर बैंकिङ भुक्तानी, साइबर सेक्युरिटी जस्ता विषयहरुमा पनि अनभिज्ञता रहेको पाइएको छ । केही सञ्चालकहरु त आफ्नो बैंकको सेवा, सुविधा र नवीनतम भनेर ल्याइएका बजारमा प्रेस रिलिज गरी हल्ला गरिएका नयाँ प्रडट्को बारेमा समेत अनभिज्ञ छन् ।
अहिलेको बदलिँदो आधुनिक प्रविधिको प्रयोग अनुरुप बैंकका अधिकांश सेवाहरु पनि प्रविधिमार्फत् रुपान्तरण हुने गरेको अवस्था छ । तर, यस विषयमा बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुले आधारभूत ज्ञानको ख्याल नराख्ने गरेको पाइएको हो । यस्तो अवस्था हेर्दा पहिला बैंकका सञ्चालकहरुबाट नै वित्तीय साक्षरताको आधारभूत शिक्षा प्रवाह गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरु बताउँछन् ।
बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुलाई आधुनिक बैंकिङको बारेमा प्राय थाहा हुँदैन । बैंकमा हुने सबै काम व्यवस्थापक कर्मचारीहरु जस्तो प्रमुख कार्यकारी अधिकृतले नै गर्ने र बैठकमा ब्रिफिङ गर्ने मात्र गर्दछन् । यसले गर्दा एक त सञ्चालकहरु सबै कुरा व्यवस्थापकहरुलाई सोध्न अप्ठ्यारो हुने बताउँछन् भने अर्कोतर्फ कर्मचारीहरु सामान्य कुरा सञ्चालकलाई भन्न उचित ठान्दैनन् ।
सामान्यत बैंक वित्तका सञ्चालकहरुलाई न्यूनतम वित्तीय ज्ञानदेखि वित्तीय प्रवद्र्धन, बैंकिङ कार्यक्रम, प्रविधिको रुपान्तरण, बैंकिङ कानुन नीति नियमका साथै क्रेडिट रिक्सजस्ता कुराहरुको ज्ञान हुनु आवश्यक मानिन्छ ।
वित्तीय साक्षरता शिक्षाले बैंक सञ्चालकहरुलाई बैंकको वित्तीय प्रदर्शन, खतरा मूल्याङ्कन, कानुन, नियमको परिपालना, बैंकको रणनीतिक योजना एवम् कार्यदिशाबारे जानकार रहन सहयोग पुग्दछ । साथै वित्तीय शिक्षाले बैंकमा आइपर्ने जोखिमहरुको पहिचान गर्न, मूल्याङ्कन गर्न र त्यसको सही व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा ज्ञान प्राप्त हुने गर्दछ । साथै यसले बैंकका सञ्चालकहरुलाई बैंकको रणनीति र जोखिम व्यवस्थापनको कार्यान्वयनमा सिइओ र वरिष्ठ व्यवस्थापन टोलीलगायत बैंकको व्यवस्थापनको प्रभावकारी रूपमा निरीक्षण गर्न सक्षम बनाउँछ।
यसैकारण बैंक तथा वित्तका सञ्चालकहरुलाई वित्तीय रिपोर्टिङ, पुँजी पर्याप्तता र उपभोक्ता संरक्षणलगायत बैंकिङ उद्योगलाई सञ्चालन गर्ने कानुन र नियमहरू बुझ्न र पालना गर्न वित्तीय शिक्षाको आवश्यकता पर्दछ। समग्रमा, वित्तीय साक्षरता शिक्षा बैंक सञ्चालक समितिका लागि सूचित निर्णयहरू लिन, प्रभावकारी रूपमा व्यवस्थापन गर्न र बैंकको व्यवस्थापन टोली एवम् सञ्चालकहरूको निरीक्षण गर्न महत्त्वपूर्ण हुने गर्दछ ।
केही सञ्चालकहरुमा वित्तीय साक्षरताको कमीले गर्दा उनीहरुले सम्बन्धित कानुन र नियमहरुको पूर्णतया पालना गरेका हुँदैनन् । यसले वित्तीय अपचलन निम्त्याउने खतरा बढेर जान्छ । वित्तीय ज्ञान, ऐन नियमबारे अनभिज्ञताले जानी नजानी बैंकिङ कसुरका अपराधमा संलग्न हुन पुग्ने सम्भावना बढ्दछ । फलस्वरुप बैंकिङ कसुरका घटना घट्ने गर्दछन् ।
वित्तीय पहुँच विस्तार गर्न, वित्तीय स्थायित्व कायम गर्न, समावेशी वित्तीय क्षेत्रको विकास गर्न र वित्तीय क्षेत्रलाई प्रविधिमैत्री बनाउन सामान्य नागरिक, बैंकर कर्मचारीदेखि बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुका लागि पनि वित्तीय साक्षरताको आवश्कयता टड्कारो देखिन्छ । त्यसकारण वित्तीय स्थायित्व बिनाको साक्षरताको कुनै अर्थ हुँदैन । अबको साक्षरता वित्तीय पहुँच विस्तार गर्नेतर्फ भन्दा पनि वित्तीय स्थायित्व कायम गर्ने, प्रविधिमैत्री बनाउने र समावेशी वित्तीय क्षेत्रमा जोड दिनेतर्फ लक्षित हुनुपर्छ ।
*The editorial news was published in the 6th issue of the "Financial Literacy" Economic Monthly Magazine.
______________
ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु ?
कस्तो कर्जालाई खराब कर्जा भनिन्छ ? खराब कर्जा बढे के हुन्छ ?