हामीले आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता हाते पुस्तिका नै प्रकाशनमा ल्याएका छौँ - कँडेल


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
हामीले आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता हाते पुस्तिका नै प्रकाशनमा ल्याएका छौँ - कँडेल

सरकारको मुख्य लगानीमा निजी क्षेत्रको सहभागितामा स्थापित नेपाल बैंक नेपालकै पहिलो र अग्रणी बैंक हो । बैंकले स्वास्थ्य र आधुनिक बैंकको रुपमा वि.सं. १९९४ देखि नै नेपालभर आफ्ना वित्तीय सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ । बैंकले अत्याधुनिक बैंकिङ प्रविधिहरु क्रेडिट कार्ड, डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङजस्ता विभिन्न डिजिटल बैंकिङको प्रयोगमार्फत् आफ्ना वित्तीय सेवाहरुलाई सरल, सहज र प्रभावकारी तवरले सेवा प्रदान गर्दै आफूलाई एक अब्बल बैंकको रुपमा स्थापित गर्दै आएको छ ।

बैंकले आफ्ना वित्तीय सेवाहरुलाई विभिन्न माध्यमबाट सरल र सहज बनाउने काममा देशका सातै प्रदेशहरुमा वित्तीय साक्षरताा अभिवृद्धिका कार्यहरु गर्दै आइरहेको छ । वित्तीय साक्षरता नै आर्थिक समृद्धिको आधार स्तम्भ हो र यसबाट बचत परिचालन एवम् उद्यमशीलता अभिवृद्धि गरी औद्योगीकरणको विकासमा सघाउ पुग्ने अभिप्रायले बैंकले विभिन्न वित्तीय सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। वित्तीय साक्षरताबाट आम जनताले वित्तीय ज्ञान र चेतना प्राप्त गरी बढीभन्दा बढी सुरक्षित बैंकिङ सेवा–सुविधाहरु उपभोग गर्न सक्दछन्। वित्तीय साक्षरता अन्तर्गत वित्तीय समावेशीकरण, सुदृढीकरण र वित्तीय पहुँच अभिवृद्धिमा नेपाल बैंकको भूमिका, कार्यक्रम, प्रभावकारिताको परिदृश्यमा रहेर वित्तीय साक्षरता आर्थिक मासिकका लागि नेपाल बैंकका बजारीकरण तथा अनुसन्धान विभागका प्रमुख/वरिष्ठ प्रबन्धक अर्जुन बहादुर कँडेलसँग गरिएको कुराकानीको सारसंक्षेप :

पछिल्लो समय नेपाल बैंकले आफ्ना वित्तीय सेवाहरुका बारेमा ग्राहकहरुलाई कसरी साक्षर गराइरहेको छ ?

नेपाल बैंकले गत आर्थिक वर्षदेखि नै वार्षिक योजना बनाएर वित्तीय साक्षरता अभिवृद्धिमा देशव्यापी रुपमा कार्यक्रम सञ्चालन गर्दै हाम्रा सेवा सुविधाको बारेमा ग्राहकहरुलाई जानकारी गराउँदै आएका छौँ । सुरुमा नेपाल बैंकले विद्यार्थी लक्षित वित्तीय सचेतनाका कार्यक्रमहरु देशका दुरदराज डोल्पा, मनाङका स्थानीय स्तरमा सञ्चालित स्कुलदेखि राजधानीका महाविद्यालय, विश्वविद्यालयहरुमा समेत सञ्चालन गर्दै आएको छ । साथै महिला उद्यमशीलता लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरु बचत, कर्जा, लगानी, सेयर मार्केट, रेमिट्यान्सका आम पाटो समेटिने गरी देशव्यापी रुपमा सञ्चालित छन्। यसअन्तर्गत नेपाल राष्ट्र बैंकले मापदण्डअनुसारका सहुलियतपूर्ण कर्जाका कार्यक्रमको बारेमा पनि सचेतना दिने काम गरिरहेको छ ।

नेपालभरका सम्पूर्ण शाखाहरुले देशको सातै प्रदेशका स्थानीय निकायहरुसँगको सहकार्यमा विभिन्न किसिमका कार्यक्रमहरु रेडियो, टेलिभिजन, पत्रपत्रिकामार्फत्, महिला भेलामार्फत्, विभिन्न किसिमका अन्तक्र्रियामार्फत् वित्तीय सेवा सुविधाअन्तर्गत रहेर वित्तीय सचेतनाका कार्यक्रमहरु निरन्तर रुपमा हुँदै आएका छन् । नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता मार्गदर्शन २०७८ ले त हामीलाई थप पृष्ठपोषण प्रदान गर्यो । विशेष गरी हामीले वित्तीय साक्षरताका कार्यक्रमहरुलाई विद्यार्थी, महिला, रेमिट्यान्स, कृषक र निश्चित आम्दानी भएका वर्गलाई लक्षित गरी कार्यक्रमहरु अगाडि बढाएका छौँ। त्यस्तै डिजिटल लिटरेसीअन्तर्गत रहेर “डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम” पनि यसैसाथ सञ्चालन गरिरहेका छौँ।

nepal bank old building

यसमा बैंकले आजका दिनसम्म प्रयोग गरेका प्रविधि मोबाइल एपद्वारा उलपब्ध हुने वित्तीय सेवा सुविधा, यसको सावधानीपूर्वक प्रयोगको बारेमा जानकारी दिने काम गर्दै आएका छौँ। नेपाल सरकारको हरेक नेपालीको बैंक खाता भन्ने अभियानअन्तर्गत हामीले देशका दुर्गम ठाउँमा  रहेका मानिसहरु जसको बैंक खाता नै छैन त्यस्ता मान्छेहरुलाई स्थानीय सरोकारवालाहरुसँगको साझेदारीमा बैंकमा खाता दिएका छौँ । बैंक आफैँले न्यूनतम रकम रु. १०० जम्मा गरिदिने कामसमेत गर्दै आएका छौँ । जसलाई हामीले समृद्ध नेपाल अभियान खाता भनेर नामकरण गरेका छौँ ।

बैंकका अधिकांश वित्तीय सेवाहरु डिजिटाइजेसनतर्फ अग्रसर हुँदै गर्दा विद्युतीय माध्यमबाट हुने कारोबारमा जोखिम थपिँदै गएको छ, डिजिटल साक्षरताको अभिवृद्धिमा नेपाल बैंकले कसरी काम गरिरहेको छ ?

निश्चय पनि जति धेरै वित्तीय कारोबारहरु हुने गर्दछन् त्यति नै जोखिम बढी हुन्छ ।  झन् चाडबाडको समयमा त विभिन्न भुक्तानी सेवा प्रदायक, बैंक वित्तीय  संस्थाहरुको विभिन्न खाले अफर, छुट, क्यासब्याक स्किमले गर्दा पनि डिजिटल कारोबार बढ्ने नै भयो। विद्युतीय माध्यममा हुने जोखिमहरुलाई पूर्ण रुपमा हटाउन त  सकिँदैन तर जोखिम न्यूनीकरणका कार्य भने गर्न सकिन्छ । 

नेपाल बैंकले डिजिटल बैंकिङ विभागबाट बजार व्यस्थापनका कार्यमा हाम्रा  डिजिटल प्रडक्टहरुको सावधानीका साथ प्रयोग, डिजिटल कारोबारका फाइदासँगै जोखिमका बारेमा विभिन्न किसिमका सचेतनाका कार्यक्रमहरु देशव्यापी रुपमा अन्तक्र्रिया, सामूहिक भेला र मिडिया सञ्जालहरुको माध्यमबाट सञ्चालन गर्दै आइरहेका छौँ। हामीले डिजिटल सचेतनाका लागि भिडियो सामग्री नै निर्माण गरी विभिन्न सामाजिक सञ्जाल, टेलिभिजन च्यानलहरुमा प्रसारण पनि गर्दै आएका छौँ । 

हामीले सुरुमा हाम्रा डिजिटल प्रडक्टको सचेतनाका लागि दैनिक, साप्ताहिक, मासिक रुपमा जुम मिटिङ वा भौतिक  रुपमा शाखा प्रबन्धक, सम्बन्धित सेवा प्रवाह गर्ने कर्मचारीहरुलाई तालिम दिने काम गर्दछौँ । हामीले नेपाल बैंकको वेब पेज, मोबाइल एप, एसएमएस, आदिबाट डिजिटल सचेतनाका सन्देशहरु प्रवाह गरिरहेका छौँ ।

नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरताको कार्यक्रमबाट गतवर्ष मात्र १५००० मान्छेहरु लाभाम्वित भएका थिए । त्यस्तै हामीले नेपाल टेलिकमसँगको सहकार्यमा देशभरमा १०,००० विद्यार्थीहरुको खाता खोली बचत गर्ने कार्यमा उत्प्रेरणा प्रदान गर्याैँ ।

हााम्रो डिजिटल कार्ड एण्ड डिजिटल बैंकिङ डिपार्टमेन्ट र वित्तीय साक्षरता हेर्ने बजार व्यवस्थापनको विशेष समूह नै छ । जसले हाम्रा बैंकिङ प्रडक्ट, वित्तीय सेवा सुविधा,  वित्तीय ज्ञान, प्रविधिको प्रयोग, बचत खाताका प्रकार र यसका फाइदा, बिमाका सुविधा, कर्जाका प्रकारलगायत यसका सुविधाको बारेमा जानकारीहरुका साथै वित्तीय सचेतनाबारे विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने एवम् जानकारी दिने काम गर्दछ । 

हाम्रो डिजिटल बैंकिङ वित्तीय साक्षरताको कार्यक्रमबाट गत वर्ष मात्र १५००० मान्छेहरु लाभान्वित भएका थिए । हामीले नेपाल टेलिकमसँगको साझेदारीमा “शुभज्ञान बचत खाता” सञ्चालन गयौँ । विभिन्न अफर तथा साक्षरताका कार्यक्रमको सहायताले देशभरमा १०,००० खाता खोली विद्यार्थीहरुलाई बचत गर्ने कार्यमा उत्प्रेरणाप्रदान गर्योँ। 

कतिपय अवस्थामा ग्राहकहरु डिजिटल रुपमा सचेत हुँदाहुँदै पनि व्यवस्था वा लापरबाहीका कारण पनि विभिन्न ठगीका घटनाहरु हुने गर्दछन्। हामीले डिजिटल लिटरेसीका कार्यक्रम गर्न थालेदेखि विभिन्न माध्यमको प्रयोग गरी हुने ठगीका घटनाहरु भने कम भएका छन्। अर्कोतर्फ हाम्रा सेवा सुविधाहरुमा वा डिजिटल माध्यमबाट हुने कारोबारमा समेत बढोत्तरी भएको छ ।

वित्तीय साक्षरता कार्यक्रमको आयाम धेरै फराकिलो रहेको हुँदा निरक्षरदेखि साक्षर वर्गसमेतका सबै व्यक्तिलाई समेट्न कस्ता कार्यक्रमहरु आवश्यक छन् ?

वित्तीय साक्षरताका आयामहरु धेरै फराकिलो रहेको हुँदा यो समय, परिवेश, परिस्थिति, सम्दर्भ, अवस्थाअनुसार फरकफरक किसिमको हुन सक्दछ । सामान्य बालबालिका, विभिन्न तहका विद्यार्थी, बयस्क, प्रौढ, वृद्ध वा विभिन्न पेसा, व्यवसायमा संलग्न मानिसहरुको लागि छुट्टाछुटै वित्तीय साक्षरताको आवश्यकता पर्ने गर्दछ । सबैलाई समेट्ने गरी बैंक वित्तीय संस्थाहरुको सेवा सुविधा, प्रडक्टको बारेमा जानकारी लिनु, कर्जा, बचत, डिजिटल उपकरणहरुको प्रयोग, रेमिट्यान्स, बिमा, सेयर बजार, लगानी व्यवस्थापन, बजेट, खर्च र आम्दानी कुसल व्यवस्थापनको ज्ञानका साथै असल वित्तीय आचरणको छुट्टाछुट्टै वित्तीय शिक्षा, ज्ञान हासिल हुने खालका कार्यक्रमहरुको आवश्यकता पर्दछ । अहिलेको अवस्थामा हाइली एजुकेटेड मान्छेलाई पनि वित्तीय साक्षरताको आवश्यकता पर्दछ । 

बैंकहरुका वित्तीय साक्षरता कार्यक्रम केवल नियामक निकायको निर्देशन परिपालना गर्नका लागि मात्र भइरहेको देखिन्छ, यसप्रति यहाँको धारणा के छ ?

पहिले र अहिलेको अवस्था फरक छ । बैंक वित्तीय संस्थाले के बुझिसके भने हरेक मान्छेलाई वित्तीय रुपमा साक्षर नबनाइकन, आफ्नो उपस्थिति नजनाइकन, वित्तीय सेवा सुविधा, प्रडक्टको बारेमा उपयुक्त तवरले जानकारी नगराएसम्म बजारमा प्रतिस्पर्धा गर्न वा अगाडि बढ्न सकिन्न भन्ने बुझिसकेको अवस्था छ । त्यसकारण अहिलेको अवस्थामा बैंक वित्तीय संस्थाहरुले आफ्ना सामाजिक उत्तरदायित्वका क्रियाकलापहरु बढाउने, वित्तीय साक्षरताका कार्यक्रमहरु गर्ने कार्य बढेको छ। आफ्नो बैंकमा बैंक खाता खोलाउने, आफ्नै बैंकबाट कर्जा उपलब्ध गराउने कार्यमा प्रतिस्पर्धा जस्तो अवस्था सिर्जना भएको अवस्था छ । अहिले वित्तीय साक्षरताको महŒव र प्रभावकारिता सबै बैंक तथा वित्तीय संस्थाहरुले महसुस गरिसकेका छन्।

nepal bank financial literacy booklet

नेपाल राष्ट्र बैंकबाट वित्तीय साक्षरता मार्गदर्शन २०७८ आएपछि त झन् बैंक वित्तीय संस्थाहरुको यसमा सहभागिता बढेको देखिन्छ । तर, नियामक निकाय नेपाल राष्ट्र बैंक बाध्यकारी कार्यान्वयनमा नलागेको अवस्था चाहिँ पक्कै हो, यसको पर्याप्त मात्रामा मनिटरिङ हुन नसक्नुले वित्तीय  साक्षरताका कार्यक्रमहरु प्रभावकारी नभएको पनि हुन सक्दछ । नेपाल बैंकको हकमा त हामीले विगतमा धेरै समय खर्चिएर सम्पूर्ण  वित्तीय सचेतनाका कार्यक्रम, महत्व, वित्तीय चेतना, वित्तीय सुरक्षा, वित्तीय समावेशीकरण र वित्तीय सशक्तीकरण समेटिने हिसाबले “आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता” भन्ने हाते पुस्तिका नै प्रकाशित गरेका छौँ। यस पुस्तकलाई देशभर रहेका नेपाल बैंकका शाखाहरुबाट हाम्रा प्रत्येक ग्राहकहरुसमक्ष पु¥याई वित्तीय साक्षरता अभिवृद्धि गर्ने काम पनि गरिरहेका छौँ ।

अन्य देशव्यापी रुपमा निरन्तर सञ्चालन हुने नेपाल बैंकका वित्तीय साक्षरताका कार्यक्रमहरु सञ्चालनको सिलसिलामा पनि हाम्रा ग्राहक, सहभागीहरुलाई पनि वितरण गर्दै आएका छौँ । जसको सहायताले प्रत्येक व्यक्तिको वित्तीय स्रोतसाधनको प्रभावकारी एवम् मितव्ययी प्रयोग, वित्तीय  आचरणमा विकास, बैंकका सेवा सुविधाको जानकारी र प्रयोगलगायत डिजिटल लिटरेसीका कार्यहरुप्रति उनीहरुलाई अग्रसर गराउँदै लगेका पनि छौँ। सन् १९९३ मा नोबेल पुरस्कार विजेता नेल्सन मन्डेलाले भनेजस्तै “जुन देशका नागरिक वित्तीय रुपमा साक्षर हुन सक्दैनन्, त्यो देश आर्थिक रुपमा समृद्ध हुन सक्दैन” आज आएर हामीकहाँ पनि यसको महत्व प्रस्ट हुँदै आएको छ ।

बैंकहरुमा प्रडक्ट कपी पेस्ट गर्ने होडबाजी नै चलेको छ भने अर्कोतर्फ ग्राहकहरुमा उक्त वित्तीय सेवाप्रति पर्याप्त वित्तीय ज्ञानको अभाव देखिन्छ, यस सन्दर्भलाई कसरी नियाल्नुभएको छ ?

 

नेपाल बैंकले कुनै पनि प्रडक्ट लन्च गर्ने सवालमा पर्याप्त अध्ययन, प्रभावकारिता हेरेर ग्राहकमैत्री तवरले नै काम गरिरहेको छ । बाहिरबाट झट्ट हेर्दा उस्ताउस्तै लाग्नु स्वाभाविक हो तर प्रतिस्पर्धात्मक बजार भएर पनि रिटेन्सनका लागि कुनै कुनै बैंकले त्यस्तो गरेका होलान्। कतिपय अवस्थामा समय परिस्थिति ग्राहकको मागले पनि त्यस्तो हुने गर्दछ । तर, नेपाल बैंकले कुनै पनि प्रडक्ट लन्च गर्दा बजारमा ग्राहकको माग र आवश्यकता प्रभावकारिताको अध्ययन गरेर केही नयाँ तवरले मात्रै काम गर्ने गर्दछ । हामी प्रडक्ट ल्याउनुभन्दा अगाडि सबै शाखा प्रबन्धक, कस्टुमर सर्भिसका स्टाफहरुलाई पर्याप्त मात्रामा उक्त सर्भिसको बारेमा तालिम दिने काम गर्ने गर्दछौँ। अर्को हाम्रा ग्राहकहरुका लागि सम्बन्धित शाखा, प्रदेश विभागदेखि प्रधान कार्यालयमा रहेको मार्केटिङ डिपोजिट विभागले उक्त प्रडक्टको बारेमा पर्याप्त जानकारी गराइरहेको हुन्छ ।

आजको दिनमा बैंक वित्तीय संस्थाहरुमा वित्तीय साक्षरता अभावको प्रभाव महसुस हुन थालेको हो ?

पक्कै पनि आजको दिनमा नेपालमा लिकुडिटी क्राइसिस भइराखेको छ, अनौपचारिक माध्यमहरुबाट बढी मात्रामा कारोबार बढी हुने गरेको अवस्था छ । बजारमा अस्वस्थ्य प्रतिस्पर्धा चलेको छ । बैंकको ब्याजदरमा होडबाजी नै चलेको अवस्था छ । किन आज मान्छेहरु ढुकुटीलगायतका कार्यमा संलग्न छन् । किन मिटर ब्याजमा ऋण लिइरहेका छन् । यी सब हुनुको पछाडिको कारण नै वित्तीय चेतनाको कमीको उपज हो।

नेपाल सरकारले बर्जित गरेका बिटक्वाइन, हाइपर फण्ड, नेटवर्क बिजनेसमा किन मान्छे लागेका छन्, किन आज विभिन्न चिट्ठा, उपहारका नाममा ठगीका घटना बढिरहेका छन् । यी सब कुरा हुनुमा वित्तीय साक्षरताको कमीले नै हो। यसका जोखिमको बारेमा समयमै बैंक वित्तीय संस्थाहरुले सचेतना गराउन नसकेर नै यस्तो अवस्था आएको हो। अबका दिनमा यस्तो समस्या न्यूनीकरणका लागि नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन कडाइका साथ लागु गर्नुपर्दछ।

बैंक वित्तीय संस्थाहरुले थप जिम्मेवारका साथ आफ्ना सामाजिक उत्वरदायित्वअन्तर्गत रहेका र व्यापक रुपमा वित्तीय साक्षरताका कार्यक्रम अगाडि बढाउनु पर्दछ। त्यस्तै नेपाल सरकार, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बिमा समितिहरुले नै समन्वयकारी भूमिका निर्वाह गरी वित्तीय साक्षरताका कार्यक्रमको अभिवृद्धिमा लाग्नुपर्ने देखिन्छ ।

*The Interview was published in the 2nd issue of the "Financial Literacy" Economic Monthly Magazine. (Ashwin, 2079)

  • EBL Ad news