काठमाडौँ । मुलुकभित्र व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्ड बुद्ध एजुकेसन फाउन्डेसन र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् ।
सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवं व्यावसायिक शिक्षा उपलब्ध गराउनका लागि फाउन्डेसन र इन्स्योरेन्स कम्पनीबिच सहकार्य गर्ने सहमति भएको हो । सहमति पत्रमा फाउन्डेसनका अध्यक्ष पंकज जलान र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुलीले हस्ताक्षर गरे ।
फाउन्डेसनमा सूचना प्रविधिको विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा प्रशिक्षार्थीको रूपमा सहभागी हुन पाउने सहमति भएको छ । यसबाट विद्यार्थीले पढाइका साथै रोजगारीको समेत अवसर पाउने फाउन्डेसनका अध्यक्ष जलानले बताए ।