नयाँदिल्ली‚ काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७ देखि २० सम्म भारत भ्रमण गर्ने निश्चित भएसँगै दुई मुलुकबीच गर्नुपर्ने समझदारी र सम्झौताका एजेन्डा तय गर्न नेपालतर्फको गृहकार्य तीव्र भएको छ । भ्रमणका क्रममा लगानी, व्यापार, प्रविधि विस्तार, विकास आयोजना निर्माण, अपराध नियन्त्रण तथा अनुसन्धानमा सहकार्यलगायत विषयले प्राथमिकता पाएका छन् ।
प्रधानमन्त्रीको भ्रमणमा समावेश गराउनुपर्ने विषयको प्रस्ताव अधिकांश मन्त्रालयले परराष्ट्रमा पठाइसकेका छन् । ‘सम्भावित एजेन्डामा परराष्ट्र मन्त्रालय र मुख्यसचिव शंकरदास बैरागीबीच छलफल भइरहेको छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘अन्तिम रूप लिन बाँकी छ ।’