आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. को २४ औं वार्षिक साधारण सभा २०७९ चैत्र १० गते शुक्रवारका दिन काठमाण्डौमा सम्पन्न भयो । उक्त सभाको सभापतित्व संस्थाका अध्यक्ष श्री सुजाता जोशीले गर्नु भएको थियो । उक्त सभाले संचालक समितिका अध्यक्ष श्री सुजाता जोशीले प्रस्तुत गर्नु भएको आ.व. २०७८०७९ को वार्षिक प्रतिवेदन सहित आ.व. २०७८/०७९ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गर्याे । अध्यक्ष जोशीले आ.व.२०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संस्थाको ३१५ वटा साझेदार संस्था संग कर्जा लगानीमा बाँकी रु.११ अर्व ८४ करोड रहेको बताउनु भयो । संस्थाले आ.व. २०७८/०७९ मा रु.५० करोड ५५ लाख संचालन नाफा गरेको र शेयरधनीहरुलाई चुक्ता पूँजीको २६% बोनस शेयर र १.३६४८% नगद लाभांश (कर प्रयोजनको लागि) दिने प्रस्ताव सभाले स्वीकृत गरेको छ ।
आरएमडीसी तथा साना किसान मर्जरको प्रक्रियामा रहेकोले उक्त मर्जर गर्नुको औचित्य माथि प्रकाश पार्ने क्रममा अध्यक्ष जोशीले आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. र साना किसान लघुवित्त वित्तीय संस्था लि. एक आपसमा गाभिने कार्य सम्पन्न भए पश्चात भविष्यमा संस्थाको पूँजीगत आधार मजबुत र सुदृढ भै प्रतिस्पर्धात्मक क्षमतामा अझ बृद्धि हुने, ब्यवसायमा बृद्धि हुने, कृषि तथा ग्रामिण क्षेत्रमा वित्तीय पहुँचको विस्तारमा सहयोग पुग्ने, लघुवित्त तथा सहकारी संस्थाहरुलाई सुलभ तथा सहज रुपमा वित्तीय श्रोत उपलब्ध गराउने एक विशिष्टिकृत संस्थाको रुपमा रुपान्तरण हुने अपेक्षा गरिएकोे बताउनु भयो ।
उक्त सभाले आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. र साना किसान लघुवित्त वित्तीय संस्था लि. एक आपसमा मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गर्याे । जस अनुसार आरएमडीसीको १०० कित्ता शेयर बराबर मर्जपछि बन्ने संस्थाको ८७ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः८७) कायम गर्ने समेत सभाले स्वीकृत गर्याे ।
उक्त सभाले संस्थाले का.म.न.पा. वडा नं.१० मध्य–बानेश्वरमा आफ्नो केन्द्रीय कार्यालयको लागि भवन खरिद गरी केन्द्रीय कार्यालय स्थानान्तरण गरेको हुँदा केन्द्रीय कार्यालयको परिवर्तीत ठेगानाको विशेष प्रस्ताव र संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्नु हुने ४ जना संचालकहरुको कार्यकाल पुरा भएको र संस्था मर्जरमा जाने भएकोले नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई थप गरेको कार्यकालको विशेष प्रस्ताव समेत अनुमोदन गर्याे।