काठमाडौं : सिलिकन भ्याली बैंकको पतनपछि नगद संकटमा परेका अमेरिकी बैंकहरुले केन्द्रीय बैंकबाट ३ खर्ब डलर भन्दा बढी ऋण लिएका छन् । यी बैंकहरुलाई विगत केही दिनको अवधिमै ३ खर्ब डलर तरलता प्रदान गरिएको फेडरल रिजर्भले बिहीबार जानकारी गराएको छ । जसमध्ये करिब आधा रकम अर्थात १ खर्ब ४३ अर्ब डलर गत हप्ता असफल भएका दुई प्रमुख बैंकहरु सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकको होल्डिङ कम्पनीहरुमा गएको छ ।
यद्दपि, बाँकी रकम प्राप्त गर्ने बैंकहरुको बारेमा भने फेडरल रिजर्भले नखुलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । असफल भएका सिलिकन भ्याली र सिग्नेचर बैंकको होल्डिङ कम्पनीहरु फेडरल डिपोजिट इन्सुरेन्स कर्पोरेसन (एफडीआइसी) ले स्थापना गरेको हो । होल्डिङ कम्पनीले दुवै बैंकको सम्पूर्ण नियन्त्रण लिएका छन् । बैंकहरुले बुधबारसम्म ‘डिस्काउन्ट विन्डो’ भनेर चिनिने फेडरल रिजर्भको अन्तिम ऋणदाता सुविधामार्फत १ खर्ब ५२ अर्ब ९० करोड डलर लिएका छन् । जुन इतिहासकै उच्च हो ।