वित्तीय शिक्षाले मानिसहरूलाई आर्थिक रूपमा साक्षर बनाउन मद्दत गर्दछ जसले उनीहरूलाई उपयुक्त वित्तीय निर्णयहरू लिन सहजता प्रदान गर्दछ। वित्तीय साक्षरता भन्नाले ज्ञान, सिप, मनोवृत्ति र व्यवहारको संयोजनलाई बुझाउँछ, जुन पैसाको प्रयोगको बारेमा सूचित र ज्ञानपूर्ण निर्णयहरू गर्न आवश्यक हुने गर्दछ । जसले अन्ततः वित्तीय कल्याण हासिल गर्न मद्दत गर्दछ ।
वित्तीय ज्ञान र सिपलाई वित्तीय साक्षरताको अभिन्न अङ्गको रूपमा लिइन्छ, जबकि वित्तीय मनोवृत्ति र व्यवहारमा यसले क्रमिक रुपमा प्रभाव पार्ने गर्दछ। आधुनिक वित्तीय प्रविधिको आविष्कारले डिजिटल वित्तीय साक्षरतालाई विश्वभर वित्तीय साक्षरताको नयाँ माध्यमको रूपमा अङ्गीकार गरेको पाइन्छ। झन् बैंक तथा वित्तीय संस्थाले आफूले सञ्चालन गरेका सेवा सुविधा र प्रडक्टका बारेमा वित्तीय रुपमा आफ्ना ग्राहकहरुलाई सचेत गर्न सके बैंकहरुलाई नै फाइदा पुग्ने हुन्छ । अर्कोतर्फ वित्तीय अपराध न्यूनीकरण, कर्जाको सही सदुपयोग हुनुका साथै वित्तीय पहुँच वृद्धिमा समेत योगदान पुग्ने देखिन्छ ।
पछिल्लो समय वित्तीय साक्षरता प्रर्वद्धनप्रति नियामक निकाय नेपाल राष्ट्र बैंकको प्रमुख चासो बढ्न थालेको छ । तर, बैंकहरुका अधिकांश वित्तीय साक्षरताका कार्यक्रम भने सामाजिक उत्वरदायित्व अन्तर्गतको बजेट सक्न मात्र केन्द्रित हुने गरेको पाइएको छ । बैंक तथा वित्तीय संस्थाहरुले एक महिनामा एउटा पनि वित्तीय साक्षरताका कार्यक्रमहरु सञ्चालन गरेको पाइँदैन । गर्नै परे पनि कुनै एउटा कम्पनीलाई जिम्मा दिएर राष्ट्र बैंकको मार्गनिर्देशले भने अनुरुपका डकुमेन्ट तयार गर्नका लागि मात्र केन्द्रित हुने गरेको पाइएको छ । प्राय बैंकहरुले बजारमा रहेका दुई तीनवटा संस्थाहरुलाई उक्त सामग्री तयारको लागि भेन्डर लिस्टिङ नै गरेर वित्तीय साक्षरताको सामग्री उपलब्ध गराउन लगाउने गरेको पाइएको छ । अधिकांश बैंकहरुले आर्थिक वर्षको अन्यतिर चैत वैशाख महिनामा एकै दिन धेरै कार्यक्रम सञ्चालन गर्न लगाई राष्ट्र बैंकको आँखामा छारो हाल्ने काम गरिरहेका छन् ।
यसमा नियामक निकायबाट खासै स्थलगत वा अन्य निरीक्षण तथा सुपरिवेक्षण भएको पाइँदैन । नीति निर्माण तहमा केन्द्रीय बैंकले उपयुक्त र प्रभावकारी मार्गदर्शन प्रस्तुत गरे पनि यसको प्रभावकारी निरीक्षण र सुपरिवेक्षण भने फितलो हुने गरेको बैंकरहरुकै भनाइ रहेको छ। जबसम्म केन्द्रीय बैंकले नै कुनै प्रभावकारी कार्यक्रम निर्माण गरी बैंकहरुको प्रत्यक्ष सहभागितामा समन्वयात्मक भूमिकामा यस्ता कार्यक्रम सञ्चालन गर्दैन तबसम्म वित्तीय साक्षरताको अभियान प्रभावकारी नहुने विज्ञहरुको भनाइ छ।
नियामक निकाय नेपाल राष्ट्र बैंकको विवेकपूर्ण नियमन, मौद्रिक नीति र रणनीतिक तथा वार्षिक योजनामा बनाउने, प्राथमिकताका साथ प्रस्तुत गर्ने, वित्तीय साक्षरता शिक्षा र वित्त दुवै क्षेत्रमा एक पारस्परिक मुद्दा हुन् भन्ने कुरालाई प्रवद्र्धन गर्ने, सहकार्य समन्वय गर्नुका साथै अनुगमनको लागि योजना बनाई मार्गनिर्देश समय समयमा परिमार्जन गरेर नै जारी पनि गर्ने गरेको छ।
प्राय एउटै गाउँ ठाउँका मानिसहरु केन्द्रित एकै खालका कार्यक्रम फरक फरक बैंकले सम्पादन गर्ने, साक्षरताका एक दिने कार्यक्रम नियामक निकायको निर्देशन परिपालनामा केन्द्रित मात्र नभई प्रभावकारी उद्यमशीलता, व्यावसायिक साक्षरता तर्फ केन्द्रित हुनुपर्ने देखिन्छ।
यसप्रति बैंकहरु जिम्मेवार नहुँदा वित्तीय साक्षरताका कार्यक्रमहरु गाउँगाउँका विद्यालयबाट विद्यार्थी भेला पारी सामान्य एक दुई घण्टाको कार्यक्रम सञ्चालन गरी, फोटो सेसन गरेर मिडियाबाजी गर्नतर्फ नै केन्द्रित रहने गरेका धेरै उदाहरण छन्। यसबारे स्वयम् विद्यार्थी, शिक्षक एवम् विद्यालय सञ्चालकहरु नै रुष्ट देखिएका छन्। यस्ता क्रियाकलापले उल्टै विद्यार्थीहरुको पढाइमा डिस्टर्ब भएको गुनासो सञ्चालकहरुको छ।
राष्ट्र बैंकले वित्तीय साक्षरता प्रवद्र्धन गर्न तीन पक्षीय दृष्टिकोण नै प्रस्तुत गरेको छ। पहिलो, बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न र आवश्यक नीति ढाँचाहरू जस्तै वित्तीय साक्षरता रणनीति, वित्तीय साक्षरता ढाँचा, वित्तीय साक्षरता दिशानिर्देशहरू आदि निर्माण गर्न केन्द्रीय भूमिका खेल्ने। दोस्रो, बैंकले विद्यालय र कलेजस्तरका पाठ्यक्रमहरूमा वित्तीय साक्षरताका लागि आवश्यक सामग्री विकास गर्न नेपाल सरकारसँग सहकार्य गर्ने। तेस्रो, राष्ट्र बैंकले वित्तीय साक्षरताको प्रवद्र्धन, समन्वय र अनुगमन गर्नका लागि बैंक, वित्तीय तथा गैर बैंक वित्तीय संस्थाहरू र अन्य नियामक निकायहरूसँग पनि परिचालन, सहजीकरण, मार्गदर्शन र नियमन गर्ने लक्ष्य राख्ने भनिएको छ।
सरसर्ती हेर्दा राष्ट्र बैंकको वित्तीय साक्षरता लक्षित कार्यक्रम, नीति, नियम, योजना निकै नै राम्रो र उत्कृष्ट देखिन्छ तर नियामक निकायले बैंकहरुमा प्रत्यक्ष स्थलगत अनुगमन, निरीक्षण, लक्षित वर्गलाई केन्द्रित कार्यक्रम बनाई बैंक बैंक बिचको समन्वय र सहकार्य बिना यस्ता कार्यक्रम योजना, नीति, नियममा मात्र सीमित हुने देखिन्छ। वित्तीय साक्षरताले देशमा वित्तमा पहुँच, वित्तीय उपभोक्ता संरक्षण र वित्तीय समावेशीकरणसँग अन्तरसम्बन्ध राख्ने हुँदा वित्तीय डिजिटलाइजेसनको मार्ग सबैको बिचमा पारस्परिक विषय बन्नु पर्दछ। नियामक निकायहरुले समावेशी वित्तीय प्रणाली हासिल गर्न नेपाल सरकारसँग सहकार्य गर्नुपर्ने देखिन्छ। तब मात्र समावेशी वित्तीय प्रणाली हासिल गर्न र वित्तीय साक्षरतालाई वित्तीय समावेशीकरणलाई महत्वपूर्ण औजारको रूपमा लिन सकिन्छ।
वित्तीय साक्षरताले देशमा वित्तमा पहुँच, वित्तीय उपभोक्ता संरक्षण र वित्तीय समावेशीकरणसँग अन्तरसम्बन्ध राख्ने हुँदा वित्तीय डिजिटलाइजेसनको मार्ग सबैको बिचमा पारस्परिक विषय बन्नु पर्दछ।
वित्तीय साक्षरता अभियानलाई व्यापक रुपमा लैजान र प्रभावकारी बनाउनका लागि एक दिने कार्यक्रमहरु लाई व्यवस्थित बनाई क्षेत्र, समूह, उद्यमी लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ। यस्ता कार्यक्रमहरु व्यावसायिक साक्षरतामा केन्द्रित बनाई बैंक–बैंक बिच समन्वय गराई संयुक्त रुपमा क्षेत्र केन्द्रित व्यावसायिक साक्षरताका कार्यक्रम सञ्चालन गरी व्यावसायिक उद्यमशिलता बढाउन सकिन्छ । यसका लागि बैंक तथा वित्तीय संस्थाहरु नै जागरुक हुँदै जिम्मेवारीपूर्वक काम गर्नुपर्ने देखिन्छ।
प्राय एउटै गाउँ ठाउँका मानिसहरु केन्द्रित एकै खालका कार्यक्रम फरक फरक बैंकले सम्पादन गर्ने, साक्षरताका एक दिने कार्यक्रम नियामक निकायको निर्देशन परिपालनामा केन्द्रित मात्र नभई प्रभावकारी उद्यमशीलता, व्यावसायिक साक्षरता तर्फ केन्द्रित हुनुपर्ने देखिन्छ । अर्कोतर्फ नीति निर्माण तहमा सम्बन्धित विषयका दक्ष जनशक्ति नियुक्त गर्न नसक्नु वा क्षमता भएको व्यक्तिलाई जिम्मेवारी दिन नसक्नु पनि एक खालको समस्याको विषय बन्ने गरेको बैंकरहरुको रहने गरेको छ। यसको समाधानका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक, नेपाल सरकार, स्थानीय निकायहरुसँग समन्वय गरी बैंकहरुले संयुक्त रुपमा लक्षित समूहलाई ठोस प्रभाव पार्ने खालका साक्षरताका कार्यक्रम गर्न सके मात्र वित्तीय साक्षरता अभियन सार्थक हुने देखिन्छ।
___
*वित्तीय साक्षरता आर्थिक मासिक पत्रिकामा प्रकाशित सम्पादकीय)
पैसाको व्यवस्थित बचत गर्ने बानी कसरी निर्माण गर्ने ?
बैंकको लोगो प्रयोग गरी अनलाइन ठगी गर्ने गिरोह सक्रिय, आफूलाई कसरी सुरक्षित राख्ने ?
पुनः वितरित सिमबाट बैंकिङ अपराध बढ्नुमा ग्राहक सचेतनाको कमी – बासुकला
पैसाको उचित व्यवस्थापन कसरी गर्ने ? हेर्नुहोस् केहि प्रभावकारी उपायहरु
डिजिटल वालेटहरु मर्ज गरेर फाइदा छैन: अमित अग्रवाल
वित्तीय साक्षरता : आफ्नो बच्चालाई पैसाको बारेमा आफैँ सिकाउनुहोस्