काठमाडौँ — प्रदेश १ मा उद्योगहरूको औसत क्षमता उपयोग घटेको पाइएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा यस प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग ५२.६ प्रतिशत छ । २०७७/७८ मा ती उद्योगहरुको औसत क्षमता उपयोग ५३.४ प्रतिशत रहेको थियो ।
विशेष गरी तयारी लत्ता कपडा उत्पादन गर्ने गार्मेन्ट उद्योग, सिन्थेटिक कपडा, फलामे छड तथा पत्ती, चप्पलजस्ता वस्तुहरु उत्पादन गर्ने उद्योगको क्षमता उपयोगमा कमी आएकाले उद्योगको औसत क्षमता उपयोगमा कमी आएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । प्रदेश नम्बर १ का नमूना छनोटमा परेका उद्योगहरुको पछिल्लो पाँच वर्षको औसत क्षमता उपयोग ५७.८ प्रतिशत पाइएको छ ।