काठमाडौँ — प्रचलित कानुन बमोजिम ग्राहक पहिचान (केवाईसी) विवरण नभर्ने सेवाग्राहीसँग कारोबार नगर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन परिमार्जन गरी उक्त व्यवस्था गरेको हो ।
‘प्रचलित कानुन बमोजिम ग्राहक पहिचान सम्बन्धी प्रावधान पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्ने वा व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘यस्तो अवस्थामा संस्थाले आवश्यक ठानेमा शंकास्पद् कारोबार/गतिविधि प्रतिवेदन वित्तीय जानकारी इकाईमा पेश गर्नेछ ।'
कुनै ग्राहक सम्पत्ति शुद्धीकरण वा आतंकवादी क्रियाकलापमा संलग्न रहेको शंका लागेमा त्यस्तो ग्राहकको पहिचान प्रक्रिया अगाडि बढाउँदा, शंका गर्दा ग्राहकले जानकारी पाउने देखिएमा प्रमाणविनै वित्तीय जानकारी इकाइमा उजुरी गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।