१९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण (एएमएल/सीएफ्टी) सम्बन्धी संस्थागत जोखिमको पहिचान तथा मूल्यांकन गरी त्यसको जोखिम प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धमा थप कडाइको नीति लिंदै राष्ट्र बैंकले बैंकहरुलाई यस्तो निर्देशन दिएको हो ।
राष्ट्र बैंकले १६ मंसिर शुक्रबार बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकिकृत निर्देशन २०७८ मा संशोधन गर्दै यस्तो प्रतिवेदन हरेक आर्थिक वर्ष सकिएको पहिलो त्रैमासभित्र सम्बन्धित सुपरिवेक्षण विभाग तथा वित्तीय जानकारी इकाइमा पेश गर्न निर्देशन दिएको हो ।