९ असार, काठमाडौं । नबिल र बंगलादेश बैंक बीचको मर्जरको अन्तिम स्वीकृति रोकिएको छ । कर्मचारी समायोजनमा हेलाहोचो भएको भन्दै विवाद बल्झिएपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति रोकेको हो ।
‘समान दुई बैक बीचको कर्मचारीहरुको पदीय हैसियत सम्बन्धमा दुवै बैंकका कर्मचारीमा विवाद देखियो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘यसलाई मिलाएर आउन भनेर केन्द्रीय बैंकले केही दिनका लागि अन्तिम मर्जर अनुमति स्वीकृति पनि रोकेको छ ।’
मर्जरमा नेपाल बंगलादेश बैंकका कनिष्ट कर्मचारीलाई माथिल्लो हैसियतमा ल्याउन लागेको भन्दै नबिल बैंकका कर्मचारी असन्तुष्ट छन् । नबिल बैंकका सञ्चालकहरुले सुटुक्क बंगलादेश बैंकका कनिष्ट कर्मचारीलाई पदस्थापन गर्न खोजेको नबिलका कर्मचारीहरुको आरोप छ ।