नेपालको पहिलो बैंक अर्थात नेपाल बैंक लिमिटेड वि.सं १९९४ साल कात्तिक ३० गते स्थापना भएको हो । नेपालको बैंकिङ इतिहासको पायोनियरका बैंकका रूपमा चिनिएको नेपाल बैंकले १९९४ सालदेखि २०१३ सालसम्म केन्द्रीय बैंकको भूमिका निर्वाह गरेको थियो ।
जुन बेला नेपाल राष्ट्र बैंक स्थापना भएको थिएन् । पछि नेपाल राष्ट्र बैंकको स्थापना भयो र बैंकले विशुद्ध बैंकिङ सेवा मात्रै प्रदान गर्न थालेको हो । नेपाल बैंकले हालेको जगमा आज धेरै वाणिज्य बैंक, विकास बैंक लगायतका वित्तिय संस्था स्थापना भइसकेका छन् ।
बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर हिस्सा रहेको छ । २०७८ असार मसान्तसम्म बैंकको चुक्ता पूँजी १२ अर्ब ६४ करोड पुगेको छ । स्थापना हुँदा बैंकको चुक्ता पँजी ८ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।
विगत ८४ वर्षदेखि बैंकले निरन्तर नेपाली जनतालाई वित्तिय सेवा प्रदान गर्दै आएको छ । ग्राहकलाई वित्तिय जनचेतना जगाउन समेत बैंकले ठूलो भूमिका खेलेको छ ।
बैंकले अहिले विभिन्न प्रविधिको प्रयोग गरी डिजिटल सेवा प्रदान गरिरहेको छ । बैंकले आधुनिक सम्पूर्ण प्रविधिहरू अवलम्बन गर्दै आएको नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण अधिकारीले बताए । बैंकले अहिले आफुलाई डिजिटल सेवामा केन्द्रित गरेको छ ।
१२ जना कर्मचारी र एउटा कार्यालयमा शुरू भएको बैंकले आज आफ्ना शाखा देशभर विस्तार गरेको छ । साथै बैंकले २० लाख बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ भने २ हजार ४०० कर्मचारीहरुलाई रोजगारी दिएको छ ।
२०४४ सालबाट शुरू भएको बैंकको डिजिटल यात्रा
बैंकको डिजिटल यात्रा आजभन्दा ३४ वर्ष अगाडि शुरू भएको थियो । त्यो बेला प्रविधिमा सहज पहुँच र सुलभ पनि थिएन् । तर पनि बैंकले २०४४ सालमा पहिलोपटक कान्तिपथ शाखालाई पूर्ण प्रविधिमैत्री बनाएर सेवा प्रदान गरेको थियो । ....








