गएको माघ तीन गते २९४७.४४ अंकमा पुगेको शेयर बजार बुधवारसम्म पनि उक्त अंक भेट्टाउन सङ्घर्षरत छ। केही दिन यता सूचकले उक्त अंक भेट्टाउन निक्कै सङ्घर्ष गरेको भएपनि सो अंक भेट्टाउन भने सकेको छैन।
बुधवार पनि बजार १९.८४ अंकले घटेर २७३४.४४ अंकमा फर्कियो। २९४७.४४ अंक भेट्टाउन बजारले अनेकन कारणको उपयोग गरिरहेको छ। तर प्रयोग भएका सबै कारण फेल हुँदै गइराखेका छन्। सबैभन्दा पहिले बजारले निर्वाचनको मिति घोषणालाई परीक्षण गर्यो। उक्त कारण बजार बढाउन पूर्ण रुपमा असफल साबित भयो। पछिल्लो केही दिनदेखि बजारले एमसीसीलाई परीक्षण गरिरहेको छ। जुन परीक्षण पनि सफल हुन सकिरहेको छैन। मंगलबार अन्तिम घण्टा बजारले निक्कै ठुलो फड्को मार्यो। उक्त फड्को मार्नुको प्रमुख कारण बुधवार संसदमा एमसीसी टेबल हुने विषय थियो। बुधवार त्यही खबरले सुरुवाती समयमा उचालेको बजारलाई लामो समय टिकाउन सकेन। एमसीसी टेबल नहुने खबर सार्वजनिक भए लगत्तै बजार पुनः ओर्लियो।
बजारले इभेन्टलाई बारम्बार क्यास गर्न खोजेको भएपनि ती सबै बेकार साबित हुँदै गएका छन्। इभेन्टहरुलाई केही कम्पनीले प्रतिक्रिया दिए पनि ठूलो बजार पूँजीकरण भएका कम्पनीले भने कुनै पनि इभेन्टलाई पूर्ण रुपमा पत्याएका छैनन्। जबसम्म लार्ज क्याप कम्पनीहरूले प्रतिक्रिया दिँदैनन्, तबसम्म बजारले फड्को मार्न सक्तैन। बजार बढ्न लार्ज क्याप कम्पनीहरूले प्रतिक्रिया दिनै पर्छ। साना कम्पनीहरूको प्रतिक्रियाले मात्रै बजार बढ्दैनन्।








