काठमाडौं । नेपाल बैंक लिमिटेडको प्रमोसनल ब्यानरमा महावीर पुनको तस्बिर सहित भनाई राखिएको छ-आउनुहोस्, तपाई र हामी जस्ता सृजनशीलहरूको सोचमा ऊर्जा भरिरहेको छ, नेपाल बैंक लिमिटेड। हो, नेपाल कै पहिलो यो बैंकले आफूलाई आधुनिक बनाउँदै लाने क्रममा यस्तै काम गरिरहेको छ।
मुलुकको सबैभन्दा पुरानो बैंक भए पनि आफूलाई समय अनुरूप परिष्कृत गर्दै लैजानेक्रममा नेपाल बैंक लिमिटेडले हाल आएर आफ्ना ग्राहकलाई अन्य वाणिज्य बैकभन्दा अब्बल सेवा दिइरहेको जनाएको छ। यसका लागि बैंकले आफ्ना कर्मचारीहरूमा युवाको हिस्सा उल्लेख्य सङ्ख्यामा वृद्धि समेत गरिसकेको छ। जसले गर्दा नेपाल बैंक लिमिटेड अब युवाहरूको बैंक बन्ने बाटोमा हिँडिरहेको देखिन्छ।
आफ्नो प्रचारात्मक सामग्रीमा उल्लेख गरे झैँ सृजनशील सोचमा ऊर्जा भर्न सक्ने र त्यसलाई ठिक ढङ्गले बुझ्न सक्ने युवाको सङ्ख्या बढाउँदै लगेर हाल २ हजार ३१ जना पुर्याइसकेको छ। यो बैंकमा जम्मा ३ हजार १९३ जना कर्मचारी कार्यरत छन्। युवा कर्मचारीको परिचालन मार्फत बैंकले नयाँ प्रविधिमा आधारित सेवालाई समेत बिस्तार र विकास गरिरहेको छ।








