श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८.१ मे.वा. क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको र उक्त आयोजनामा लगानी गर्न कम्पनीले जारी पूँजी रु. १,५९,३०,००,०००/- को ३० प्रतिशतले हुन आउने रकम रु. ४७,७९,००,०००/- (अक्षरुपी सड्चालिस करोड उनान्असि लाख मात्र) बराबरको रु. १००/-अंकित दरको ४७,७९,००० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारण तथा कर्मचारीलाई जारी गर्न लागेको छ । कम्पनीले उक्त प्रयोजनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री भिष्म राज चालिसे र श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक डा. श्री सुवर्ण दास श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ के.भी. न्यु खिम्ती सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । कम्पनीद्वारा निर्माणाधिन उक्त आयोजनाको निर्माण प्रगति हालसम्म करिब ७५ प्रतिशतको हाराहारीमा रहेको छ ।