लकडाउन यता समय प्रविधिमैत्री हुँदै गएको छ। लकडाउनले मानिसलाई प्रविधिमैत्री बन्न बाध्य बनाएको छ। समस्याका बीच मानिसहरूले प्रविधिको विकल्प नपाएपछि उनीहरू प्रविधिमा जान बाध्य भएका हुन्।
भुक्तानी कारोबार, शिक्षा र शेयर कारोबारमा सबैभन्दा बढी प्रविधिको प्रयोग बढेको छ। केन्द्रीय बैंकका अनुसार लकडाउन यता भुक्तानी प्रयोजनको लागि प्रविधिको प्रयोग उल्लेख्य बढेको छ भने शिक्षा प्रविधिको प्रयोग शतप्रतिशत देखिएकाे छ। उता शेयर बजारमा अनलाइन प्रयोगकर्ता दैनिक बढ्दो क्रममा छन्।
सर्वसाधारणको प्रयोग र आकर्षण आक्रामक रुपमा बढ्दै गर्दा त्यसको सेवा प्रवाहमा सरोकारवाला उदासीन हुँदा सर्वसाधारण भने चुस्त प्रविधिको प्रयोगबाट वञ्चित हुँदै गएका छन्। सेवा दिनुपर्ने निकायभन्दा सेवा लिने सर्वसाधारण दैनिक रुपमा प्रविधिमा अभ्यस्त हुँदै जाँदा सेवा दिनुपर्ने निकायका अधिकारीहरू नै प्रविधि प्रति जानकार नहुँदा दैनिक समस्या बढ्दै गएको बुझिएको छ।
भुक्तानी प्रयोजनको लागि नेपाल राष्ट्र बैंकका गभर्नर आफै हाट बजार, चिया पसलमा गएर भुक्तानीका लागि क्युआर कोड प्रयोग गर्न सर्वसाधारणलाई प्रोत्साहित गर्ने अभियानमा छन्। जसको परिणाम तथ्याङ्कले समेत पुष्टि गर्दै लगेको छ। उता, केन्द्रीय बैंक नै त्यसमा लागि परेपछि सेवा प्रवाहमा दैनिक चुस्तता देखिन थालेको छ।
तर, यता शेयर कारोबारमा भने सेवा प्रवाह गर्नेभन्दा सेवा लिने दैनिक बढिरहेका छन्। केन्द्रीय बैंकले प्रोत्साहन गर्दै अघि बढेको अवस्थासँग तुलना गर्ने हो भने शेयर बजार विकासको जिम्मेवारी बोकेका निकायका अगुवा भने निकम्मा साबित हुँदै गएका छन्। उनीहरूले प्रविधिको लागि कुनै कसरत गरेको देखिँदैन। यसको पुष्टि नयाँ टिएमएस (ट्रेड म्यानेजमेन्ट) जडान गर्ने विषयले गर्छ।