काठमाडौं । लाभांश वितरणमा विवाद भएपछि नेपाल बैङ्कका अध्यक्ष वासुदेव अधिकारीले माघ ५ गते राजीनामा दिए । सञ्चालक समितिबाट पास भएर दोस्रो बजारमा बुक क्लोज भइसकेको तथा साधारणसभाले समेत पारित गरिसकेको लाभांश फिर्ता गर्न अर्थ मन्त्रालयले दबाब दिएपछि अधिकारीले राजीनामाको बाटो रोजेका हुन् । उनको राजीनामा अर्थ मन्त्रालयले ३ सातापछि स्वीकृतसमेत गरिसकेको छ ।
अध्यक्षको राजीनामासँगै नेपाल बैङ्क नेतृत्वविहीन छ । तर, जुन दबाबका कारण अध्यक्षको राजीनामा दिइएको थियो, अहिले त्यो विवाद भने सेलाएको छ । यसबारे कुरा गर्न नेपाल बैङ्क, राष्ट्र बैङ्क, अर्थ मन्त्रालय कोही पनि तयार छैनन् ।
विवादको कारण
नेपाल बैङ्कको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव गर्यो । नेपाल बैङ्कसँग तात्कालिन अवस्थामा रहेको ११ अर्ब २८ करोड रुपैयाँ चुक्ता पुँजीको आधारमा बैङ्कले १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश समेत गरी उक्त परिमाणमा लाभांश घोषणा गरेको हो । सो लाभांशबापत बैङ्कले १ अर्ब ८० करोड रुपैयाँ वितरणको प्रस्ताव गरको थियो । यसमध्ये १ अर्ब ३५ करोड रुपैयाँ बोनस शेयर र करिब ४५ करोड रुपैयाँ नगद थियो ।








