इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जरका लागि अघि बढे, नेपाल कै ठूलो बैंक बन्ने



Aarthik News

काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जरमा जाने तयारी शुरु गरेका छन् । दुबै बैंकहरूले बैंकहरूको प्रारम्भिक ड्यू डेलिजेन्स अडिट (डीडीए रिपोर्ट) चित्त बुझाएमा मर्जरमा जाने तयारी गरेका हुन् । अहिले दुबै बैंकहरूले डीडीए गरिरहेका छन्, यसमा चित्त बुझे हामी मर्जर जान तयार छौं,’ नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीवहादुर पाँडेले भने ‘मर्जरमा गएपछि अन्य कुरा विस्तारै मिल्दै जान्छ ।’

मर्जरमा जाने तयारी गरिरहेका बैंकमध्ये हिमालय बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड २२ लाख  ८१ हजार ६ सय रुपैयाँ रहेको छ भने यसको मंगलबारको अन्तिम शेयर मूल्य प्रतिकित्ता ६५६ रुपैयाँ रहेको छ ।  नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजार ५ सय रुपैयाँ  रहेको छ । एनआईबीएलको अन्तिम शेयर मूल्य प्रतिकित्ता ५३१ रुपैयाँ रहेको छ । 

यी दुबै बैंक मर्ज भएपछि २३ अर्ब ६२ करोड १२ लाख ३६ हजारको नेपाल कै ठूलो बैंक बन्ने भएको छ । यस अघि मर्जरमा गएका जनता बैंक र ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १८ अर्ब ९७ करोड ५८ लाख ७९ हजारमात्रै रहेको छ । दुबै बैंकहरूको पारिवारिक सम्बन्ध भएकाले बैंकहरूबीच मतभेद नहुने भएकाले बैंकका अन्य विषय मर्जर प्रक्रियासँगै विस्तारै मिलाउँदै लैजाने तयारीमा दुबै पक्षका बैंक रहेका छन् ।

Read More
  • Financial Notices