पेन्सन लिनेका लागि पाँच दिन झुलाघाट नाका खोलिने



Aarthik News

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खोलिने भएको छ । नेपाली नागरिकलाई भारतीय निवृत्तिभरण बुझ्न समस्या भएपछि सो नाका पाँच दिनका लागि खोलिन लागिएको हो । 
 
यही मङ्सिर ८ गते देखि १२ गतेसम्म नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। उनले भने, “ नेपाली नागरिकलाई भारतीय पेन्सन बुझ्नका लागि सजिलो होस् भनेर पाँच दिनका लागि नाका खोल्न लागेका हौँ ।” जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खुल्न लागेको होे ।  कोरोनाका कारण सीमा नाका बन्द भएपछि नेपालीले लामो समयदेखि निवृत्तिभरण बुझ्न पाएका छैनन् । यसअघि  तीन दिनका लागि नाका खोलिए पनि सबैले निवृत्तिभरण बुझ्न पाएका थिएनन् ।    

नाका खुलेका समयमा निवृत्तिभरणधारीका साथै अत्यावश्यक र आकस्मिक काम परेकाले समेत आवतजावत गर्न पाउने सहायक प्रजिअ नेगीले बताए । उनले भने, “खास गरेर पेन्सनधारीको पेन्सन बुझ्नका लागि नाका खुल्ने हो, अत्यावश्यक कामका लागि अरुलाई पनि आवतजावत गर्न दिइन्छ ।”

Read More
  • Financial Notices