३ महिनामा सवा अर्ब पुँजीगत लाभकर संकलन



Kantipur Daily

काठमाडौँ — चालु आर्थिक वर्षको तीन महिनामा सेयर बजारबाट करिब सवा अर्ब रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो आर्थिक वर्षको पहिलो त्रैमासमा संकलित लाभकर करिब आठ गुणा (करिब ७ सय प्रतिशत) बढी हो ।

गत आर्थिक वर्षको पहिलो तीन महिनामा सेयर बजारबाट १३ करोड ८५ लाख रुपैयाँ मात्र पुँजीगत लाभकर संकलन भएको थियो ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ठूलो परिमाणमा प्राथमिक निष्कासन (आईपीओ) सूचीकरण भएको, अनलाइन कारोबार बढेको, कारोबार रकम बढेकोलगायत कारण धेरै पुँजीगत लाभकर संकलन भएको बताइएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज) मा पुँजीगत लाभकर र अग्रिम कर कट्टी (टीडीएस) गरी कुल १ अर्ब २८ करोड रुपैयाँ कर संकलन भएको छ । जसमध्ये करिब १ अर्ब १२ करोड रुपैयाँ पुँजीगत लाभकरबाट र १६ करोड ६७ लाख रुपैयाँ टीडीएसबाट संकलन भएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा १३ करोड ८५ लाख रुपैयाँ पुँजीगत लाभकर र २ करोड ७ लाख रुपैयाँ टीडीएसबाट गरी १६ करोड ५५ लाख रुपैयाँ संकलन भएको थियो । हालको व्यवस्थाअनुसार सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले ५ र संस्थागत लगानीकर्ताले १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । यसबाहेक धितोपत्र ब्रोकर, नेप्से, संस्थागत लगानीकर्ताले संस्थागत आम्दानी कर पनि तिर्नुपर्छ । सबै जोड्दा यो वर्ष सेयर बजारबाट संकलन हुने कर धेरैले बढ्छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेप्से परिसूचक करिब २ सय अंक बढिसकेको छ । गत असार मसान्तमा करिब १ हजार ३ सय ५८ अंकमा रहेको नेप्से असोज मसान्तमा १ हजार ५ सय ६३ अंकमा उक्लेको छ । यो अवधिमा दैनिक औसत कारोबार पनि बढेको छ । दोस्रो बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार सुरु भएको करिब डेढ वर्ष भइसक्दा पनि उल्लेख्य रूपमा कारोबार रकम बढ्न सकेको थिएन । तर कोभिड–१९ को जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि करिब तीन महिना बन्द भएर खुलेको बजारमा उल्लेख्य कारोबार बढेको छ । ...

Read More
  • Financial Notices