राष्ट्र बैंकको परिपत्रले आयातकर्ता अन्योलमा



Aarthik Abhiyan

वीरगञ्ज । नेपाल राष्ट्र बैंकको परिपत्रलाई देखाएर वाणिज्य बैंकहरूले भुक्तानी अस्वीकार गरेपछि चैत १६ अघि सिपमेन्ट भएका केराउ, मरीच र सुपारी भित्र्याउने प्रक्रिया फेरि अवरुद्ध भएको छ । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागको पूर्वअनुमति नलिई भित्रिएका यस्ता वस्तु एकपटकका लागि भित्र्याउन दिने निर्णय सरकारले गरेको थियो । राष्ट्र बैंकको पछिल्लो पत्रका कारण जाँचपास रोकिएको आयातकर्ताले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी चैत १६ अघि सिमपेन्ट भइसकेका यस्ता वस्तु भित्र्याउन अनुमति दिएको थियो । गत भदौ २२ मा मन्त्रालयको सूचना प्रकाशित भएपछि वीरगञ्ज सुक्खा बन्दरगाह र भारतका कोलकाता र विशाखापत्तनम् बन्दरगाहमा रोकिएका यस्ता मालसामन भित्रिन थालेका थिए ।

मरीच, सुपारी, केराउ, छोकडा र ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका सवारीसाधन आयातका लागि विदेशी मुद्रा सटही सुविधा नदिन राष्ट्र बैंकले पत्राचार गरेको छ । राष्ट्र बैंकले असोज २७ मा यस्तो परिपत्र गरेको थियो । यो पत्र देखाएर बैंकहरूले सटही सुविधा दिन नमानेका हुन् । बैंकले सटही सुविधा नदिएपछि बन्दरगाहमा आइसकेका मालसामानको जाँचपास रोकिएको आयातकर्ता ओमप्रकाश मोरले बताए ।

Read More
  • Financial Notices